दिल्ली पब्लिक स्कुल (डीपीएस), विराटनगरका विद्यार्थीहरूले अन्तर्राष्ट्रिय अनलाइन वक्तृत्वकला प्रतियोगितामा उत्कृष्ट सफलता हासिल गर्दै विद्यालय तथा विराटनगरको गौरव उच्च बनाएका छन्।
भारतको सिलिगुडीस्थित जीडी गोयन्का स्कुलद्वारा आयोजित ‘हिमालयन इन्क इन्टरनेसनल अनलाइन स्पिच कम्पिटिसन’ मा सहभागी डीपीएस विराटनगरका चार जना विद्यार्थीले विभिन्न विधामा उत्कृष्ट स्थान सुरक्षित गर्न सफल भएका हुन्।
प्रतियोगितामा अभिषा भण्डारीले नेपाली भाषातर्फ क्याटेगोरी ‘बी’ मा प्रथम स्थान हासिल गर्नुभएको छ। त्यसैगरी, इशेत्वा प्रियदर्शीले हिन्दी भाषातर्फ क्याटेगोरी ‘सी’ मा द्वितीय स्थान प्राप्त गर्नुभएको छ भने रिधान अग्रवालले नेपाली भाषातर्फ क्याटेगोरी ‘ए’ मा र कृति झाले नेपाली भाषातर्फ क्याटेगोरी ‘सी’ मा तृतीय स्थान हासिल गर्न सफल हुनुभएको छ।
नेपाल तथा भारतका विभिन्न प्रतिष्ठित विद्यालयका प्रतिभाशाली विद्यार्थीहरूको सहभागिता रहेको उक्त प्रतियोगितामा डीपीएस विराटनगरका विद्यार्थीहरूले आफ्नो उच्च आत्मविश्वास, उत्कृष्ट भाषिक दक्षता, विचार अभिव्यक्त गर्ने क्षमता तथा प्रभावकारी वक्तृत्वकलाको गतिलो प्रदर्शन गरेका थिए।
विद्यार्थीहरूको यस प्रकारको सफलताले विद्यालयमा पठनपाठनसँगै अतिरिक्त क्रियाकलाप, सिर्जनात्मकता र व्यक्तित्व विकासलाई दिइँदै आएको विशेष महत्त्वलाई थप उजागर गरेको छ। वक्तृत्वकला जस्ता प्रतियोगिताले विद्यार्थीमा नेतृत्व क्षमता, तार्किक सोच, आत्मविश्वास तथा आफ्ना विचारलाई प्रभावकारी रूपमा प्रस्तुत गर्ने सीप विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।
विद्यालयले प्रतियोगितामा उत्कृष्ट सफलता हासिल गर्ने सम्पूर्ण विद्यार्थीलाई हार्दिक बधाई ज्ञापन गर्दै उनीहरूका अभिभावक तथा तयारीमा मार्गदर्शन पुर्याउनुहुने शिक्षकहरूको योगदानको उच्च प्रशंसा गरेको छ। विद्यार्थीहरूको यो उपलब्धि विद्यालय परिवारका लागि मात्र नभई समग्र विराटनगरको शैक्षिक क्षेत्रकै लागि गर्वको विषय बनेको छ।