विराटनगर । विराटनगरमा भोलि (कार्तिक २० गते) आयोजना हुन लागेको पाँचौँ संस्करणको विराटनगर म्युजिक फेस्टिवल २०८३ मा प्रस्तुति दिन काठमाडौंँबाट आएका चर्चित सांगीतिक ब्यान्ड एल्बाट्रस र रकहेट्सलाई विराटनगर विमानस्थलमा आयोजकले भव्य स्वागत गरेका छन्।
लाइभ इन्टरटेन्मेन्टको आयोजनामा विगत चार वर्षदेखि निरन्तर हुँदै आएको म्युजिक फेस्टिवललाई यसपटक थप भव्य र व्यवस्थित बनाउने तयारी गरिएको आयोजकले जनाएको छ। कार्यक्रम सफल बनाउन कुनै कसर बाँकी नराख्ने आयोजकको भनाइ छ। विराटनगरको मेनरोडस्थित जैन भवनको खुला प्राङ्गणमा हुने फेस्टिवलका लागि अन्तर्राष्ट्रियस्तरको स्टेज निर्माण भइरहेको छ। स्टेज व्यवस्थापनमा मात्रै २५ लाख रुपैयाँभन्दा बढी खर्च हुने आयोजकले जनाएको छ। अहिले स्टेज निर्माण तथा अन्य प्राविधिक तयारीलाई तीव्रता दिइएको छ।
यसपटकको फेस्टिवलमा नेपालकै चर्चित ब्यान्ड एल्बाट्रस र युवा पुस्तामाझ लोकप्रिय रकहेट्सले आफ्ना चर्चित गीतमार्फत दर्शकलाई मनोरञ्जन दिनेछन्। उनीहरूसँगै विराटनगरका स्थानीय सांगीतिक प्रतिभाहरूले पनि आफ्नो प्रस्तुति दिने कार्यक्रम रहेको छ। चर्चित मोडल तथा होस्ट रोनिश्मा श्रेष्ठले कार्यक्रम सञ्चालन गर्नेछिन्। चर्चित ब्यान्डहरूको लाइभ प्रस्तुति, आकर्षक स्टेज र स्थानीय कलाकारको सहभागिताले यसपटकको विराटनगर म्युजिक फेस्टिवल विशेष हुने अपेक्षा आयोजकले गरेको छ।