विराटनगर । चार बिगाहा क्षेत्रफलमा सयपत्री फूल हुर्केपछि मोरङको कटहरी गाउँपालिका–४ नयाँ बजारका रामकुमार राजवंशीको चेहरा उतिकै खुलेको थियो । दिपावली जति खुल्छ राजबंशीको अनुहार पनि उतिकैउज्यालो छाएकोथियो ।
दिपावली नजिकीयो, खेतमा फुलेको फूल टिप्ने र माला उन्ने दैनिक २० जनासम्म कामदार खटिए । तर, फूल उत्पादनका लागि जति मेहनत छ, त्यतिनै माग भने भइरहेको छैन । अनि फूलका बिरुवा हुर्किएसँगै राजबंशीका अनुहारमा आएको मुस्कान फूल फुलेर लगानी उठ्ने बेलामा घट्यो ।
खुल्ला सीमाबाट नेपालमा भित्रने भारतीय फूलले राजबंशीको १२ लाख रुपिँयाको लगानी डुब्ने चिन्ता छ । मल, औषधी, सिंचाई र कामदारको लगानी उठ्न नसकेमा ऋणको भारीले थिचिनुपर्ने चिन्ता थपिरहेको छ । खेतमा सयपत्रीको सुन्दरता छ, अनुहारमा लगानी डुब्छ की भन्ने चिन्ताको मलिनता । सीमावर्ती नाकाबाट लुकिछिपी भित्रिने भारतीय फूलले स्वदेशी उत्पादनको बजार खोस्नेजोखिमसँग राजबंशी डराइरहनु भएको छ ।
‘ऋण खोजेर खेती गरेको हा,े मल, औषधि, सिंचाइ र कामदारमा ठूलो खर्च हुन्छ,’ राजवंशीले भन्नुभयो, ‘भारतबाट चोरीतस्करी गरेर फूल ल्याइयो भने हाम्रो उत्पादनले बजार पाउँदैन । सीमामा कडाइ गरेर अवैध फूल भित्रिन रोक्नुपर्छ ।’
मोरङमा मात्रै अहिलेसम्म ६५ लाख मूल्य बराबरको तयारी माला सशस्त्र प्रहरी बल नेपाल, नम्बर ३ गण हेडक्वाटर कंकालिनीले बरामद गरिसकेको छ । सशस्त्र प्रहरी बल नेपाल, कंकालिनी गणका प्रहरी उपरीक्षक गेहेन्द्र भण्डारीका अनुसार जिल्ला भरका सबै कोल्ड स्टोरमा विशेष निगरानी टोलि परिचालन गरिएको छ । यदि कसैले फूल भित्र्याएर भण्डारण गरिएको पाइएमा त्यहिंबाट जफत गरिने प्रहरी उपरीक्षक भण्डारीले जानकारी दिनुभयो ।
राजबंशीले दुई वर्षदेखि व्यावसायिक रूपमा सयपत्री फूलखेती गर्दैस्थानीयस्तरमा अन्य किसानलाई समेत जागरुक गराईरहेको सुनाउनुभयो । गत वर्ष दुई बिघामा खेती थियो । यस वर्ष उत्पादन बढाउने उद्देश्यले क्षेत्रफल दोब्बर बनाएर फसल भित्र्याउने अवस्थामा पु¥याएको उहाँले सुनाउनुभयो । गत वर्ष लगानी उठ्ने गरी आम्दानी नभए पनि घाटा पनि नभएको अनुभव रहेको छ । माग अनुसार काठमाडौंसम्म पनि फूल पठाउने गरिएको छ । तिहारमा काग तिहारदेखि फूलको बिक्री बढ्ने भएकाले अहिले टिपिएका फूल र तयार माला शीतभण्डारमा राख्न थालिएको छ । तर शील भण्डारमा राखिएका फूलमा कुनैपनि अन्य रसायन मिलाइएको छैन । तिहार र छठसम्म बिक्री हुने गरी उत्पादन व्यवस्थापन गरिएको उहाँले बताउनुभयो ।
विराटनगरमा आफ्नै फूल पसलसमेत रहेकोले त्यहाँ आएर आवश्यक माला खरिद गर्न पनि उहाँको आग्रह छ ।
सीमाबाट भित्रन्छ, कोल्ड स्टोरमा पुगेपछि नियन्त्रणमा पर्छबजारलाई लक्षित गरेर फूल टिप्न र माला बनाउन नेपाली किसान व्यस्त भइरहेका बेला सीमापारीबाट भने अवैध रूपमा सयपत्री फूल भित्र्याएर कोल्ड स्टोरमा पु¥याउने गरिएको पाइएको छ । भारतबाट फूल ल्याएर तत्कालै बजारमा नपठाई कोल्डस्टोरमा राखेर तिहारको चहलपलहमा बाहिर निकाल्दा पाउने मूल्ल उच्च हुन्छ । तर, यसले नेपाली उत्पादनलाई प्रतिस्थापन ग र्ने संभावना हुन्छ ।
मोरङ र झापामा पछिल्ला दिनमा भएका बरामदले फूल तस्करीको सञ्जाल सीमापारिबाट सञ्चालित देखिन्छ । मोरङका शीतभण्डारमा प्रहरीले निगरानी बढाएर नियन्त्रण गर्ने हो भने त्यसको राहत राजबंशी जस्ता किसानमा पर्छ ।
कार्तिक १४ गते सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गण हेडक्वार्टर कंकालिनी मोरङबाट खटिएको टोलीले जिल्लाका विभिन्न स्थानबाट करिब २५ लाख रुपैयाँ मूल्य बराबरको अवैध सयपत्री फूल बरामद ग¥यो । भारतबाट ल्याइएको उक्त फूल बुढीगंगास्थित ग्लोबल कोल्ड स्टोर र विराटनगर–४ स्थित राधाकृष्ण कोल्ड स्टोरमा भण्डारण गर्न लैजाँदै गर्दा नियन्त्रणमा लिइएको थियो ।
त्यसको दुई दिनपछि कात्तिक १६ गते सशस्त्र प्रहरीले विराटनगर महानगरपालिका–५ गोग्राहास्थित इष्टर्न कोल्ड स्टोर प्रालिमा खानतलासी ग¥यो । त्यहाँ अवैध रूपमा भण्डारण गरिएका ३०५ पोका सयपत्री फूलका तयारी माला फेला परे । सशस्त्र प्रहरीका अनुसार ती मालाको मूल्य २३ लाख २० हजार रुपैयाँ बराबर छ । त्यसैगरी बुधबार कानेपोखरीको साना किसान सहकारीको कोल्ड स्टोरबाट २३ लाख मूल्य बराबरको माला बरामद गरेर नष्ट गरिएको छ ।
यसअघि झापाको दमकबाट पनि भारतबाट तस्करी गरी ल्याइएको ११ लाख २५ हजार रुपैयाँ बराबरको सयपत्री फूलका माला बरामद गरिएको थियो ।
