विराटनगर । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार ९दीपावली० आजदेखि विधिवत् रूपमा सुरु भएको छ। कात्तिक कृष्ण त्रयोदशी तिथि प्रारम्भ भएसँगै आजैबाट ‘यमपञ्चक’ पनि सुरु भएको हो।
सामान्यतया पाँच दिन मनाइने यो पर्व यस वर्ष तिथिको घटबढका कारण ६ दिनसम्म मनाइँदैछ। आज बिहान ११ बजेर १० मिनेटपछि त्रयोदशी तिथि सुरु भएकाले आज साँझ धनतेरस मनाइँदैछ। विशेषगरी मधेश तथा प्राचीन मिथिला क्षेत्रमा धनतेरसका दिन धनधान्यकी देवी लक्ष्मीलाई प्रसन्न तुल्याउन धातुका भाँडाकुँडा, गरगहना, खरेटो तथा धनियाँ किनेर घरमा दीपमालिका गर्ने परम्परा छ।
कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीया (भाइटीका) सम्मको अवधिलाई धार्मिक रूपमा ‘यमपञ्चक’ भनिन्छ। पौराणिक मान्यताअनुसार यमपञ्चकका यी पाँच दिन मृत्युका देवता यमराज आफ्नी बहिनी यमुनाको घरमा आतिथ्य ग्रहण गर्न बस्ने गर्छन्। यस अवधिमा बहिनी यमुनाले दाजु यमराजको विधिवत् पूजाआराधना गरेकी थिइन्। त्यसैले अकाल मृत्युबाट बच्न, आरोग्य र पारिवारिक सुख(शान्तिको कामना गर्दै यमपञ्चकभरि साँझपख दक्षिण फर्काएर यमदीप (दीपदान) बाल्ने धार्मिक विश्वास छ।
यसपटक तिथिको हेरफेरका कारण त्रयोदशी तिथिमै पर्ने कागपूजा र धन्वन्तरी जयन्ती भने शनिबार परेको छ। शनिबार बिहान १० बजेर ४७ मिनेटसम्म त्रयोदशी तिथि रहने भएकाले सूर्योदयकालीन तिथिअनुसार सो दिन कागपूजा गरिने भएको हो।
त्यस्तै, आइतबार बिहान चतुर्दशी तिथिमा कुकुर पूजा र सोही दिन साँझ धनकी देवी महालक्ष्मीको पूजाआराधना गरिनेछ। तिहार पर्व आगामी बुधबार मैथिल परम्पराअनुसार भैयादूज ९भाइटीका० लगाएर सम्पन्न हुनेछ।