विराटनगर । विराटनगर महानगरपालिका–७ हाटखोलास्थित श्मशान घाटमा शव जलाउन दाउराको अभाव र व्यवस्थापनमा लापरबाही भएको भन्दै नागरिकस्तरबाट व्यापक गुनासो आएपछि नगरप्रमुख नागेश कोइरालाले घाट व्यवस्थापन समितिका पदाधिकारीलाई बोलाएर छलफल गरेका छन् ।

केही दिनयता शवदाहका लागि घाटमा पुगेका मृतकका आफन्तले आवश्यकताअनुसार दाउरा नपाएको गुनासो गर्दै आएका थिए । केही दिनअघि मात्रै एकैदिन तीनवटा शव लिएर घाट पुगेका आफन्तले दाउरा अभाव भएपछि शव अन्यत्र लैजानुपर्ने बाध्यता भएको थियो । त्यसपछि महानगरपालिका र घाट व्यवस्थापन समितिको कार्यशैलीप्रति चौतर्फी आलोचना हुँदै आएको थियो । नागरिकको गुनासो बढ्दै गएपछि नगरप्रमुख कोइरालाले शुक्रबार घाट व्यवस्थापन समितिका पदाधिकारी तथा सम्बन्धित वडाका जनप्रतिनिधिसँग छलफल गरी समस्या तत्काल समाधान गर्न पहल थालेका हुन् ।

छलफलमा नगरप्रमुख कोइरालाले घाटमा देखिएका बेथिति अन्त्य गरी सेवाग्राहीलाई सहज र व्यवस्थित सेवा उपलब्ध गराउन निर्देशन दिएका छन् । छलफलमा वडा नम्बर ७ का अध्यक्ष मधुबाबु तिवारी र वडा नम्बर ८ का अध्यक्ष राम पोखरेलले समेत वर्तमान व्यवस्थापन समितिको कार्यशैलीप्रति असन्तुष्टि जनाएका थिए । वडाध्यक्षद्वयले समितिले अपेक्षाअनुसार काम गर्न नसकेको आरोप लगाउँदै अघिल्लो समितिको कार्यकालमा यस प्रकारका गुनासा नआएको बताएका थिए । उनीहरूले घाटको व्यवस्थापन पारदर्शी बनाउन र सेवाप्रवाह प्रभावकारी बनाउन समितिलाई आग्रह गरेका छन् । छलफलले घाटमा देखिएका समस्या समाधान गर्न दाउराको निश्चित मूल्य निर्धारण गर्ने निर्णय गरेको छ । परोपकार घाट र श्मशान घाट दुवैका व्यवस्थापन समितिका पदाधिकारीलाई सहभागी गराएर दाउराको एकरूप दररेट कायम गरिने भएको छ ।

त्यस्तै, शवदाहपछि बाँकी रहने दाउरा, कपडा, फूलमाला तथा अन्य सामग्री जथाभावी खोलामा फाल्न नपाइने व्यवस्था गरिने भएको छ । त्यस्ता सामग्री निश्चित स्थानमा संकलन गरी व्यवस्थित रूपमा व्यवस्थापन गर्ने निर्णयसमेत गरिएको छ । घाट परिसरमा सञ्चालित चमेनागृहबाट बिक्री हुने चिया, पानी, बिस्कुटलगायत उपभोग्य सामग्रीको मूल्य बजार मूल्यभन्दा बढी लिन नपाइने निर्णय गरिएको छ । सेवाग्राहीलाई सामान्य उपभोग्य सामग्रीसमेत चर्को मूल्यमा खरिद गर्नुपर्ने अवस्थाको अन्त्य गर्न महानगरले यस्तो व्यवस्था गर्न लागेको हो ।
त्यसैगरी, घाट परिसरमा पर्याप्त प्रकाशको व्यवस्था गर्न विद्युत् तथा बत्तीको उचित व्यवस्थापन गर्ने निर्णय भएको छ । घाटको समग्र व्यवस्थापन, सरसफाइ र सेवाप्रवाहको नियमित अनुगमन गर्ने जिम्मेवारी वडा नम्बर ७ का अध्यक्ष मधुबाबु तिवारी र वडा नम्बर ८ का अध्यक्ष राम पोखरेललाई दिइएको छ । छलफलमा प्रमुख प्रशासकीय अधिकृत विजयकुमार शर्मा, शैक्षिक प्रशासन महाशाखा प्रमुख रामप्रसाद ढुंगेल, सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलिया, घाट व्यवस्थापन समितिका अध्यक्ष सतिश दुगड, कोषाध्यक्ष जुगलकिशोर राठीलगायतको सहभागिता रहेको थियो ।