विराटनगर । आयात इजाजत नलिकन पूर्वमा पोटासियम नाइट्रेट कारोबार हुने गरेको खुलेको छ । विष्फोटक पदार्थमा समेत प्रयोग हुने वस्तुको कारोबार विराटनगर भन्सार कार्यालयमा झुक्याएर जाँचपास गरेर भित्रने गरेको हो । जसलाई किन कोशी पहाडी जिल्लासम्म पठाइन्छ भन्ने अहिलेसम्म खुलेको छैन ।
पोटासियम नाइट्रेटलाई पोटासियम एल्युमिनियम को नाममा भित्र्याएको खुलेको छ ।
सुनसरीको धरान उपमहानगरपालिका–८ तीनकुनेमा इलाका प्रहरी कार्यालय धरानको प्रहरीले गत कार्तिक १० गते ४७ किलो ८७० ग्राम पोटासियम नाइट्रेटसहित तीनजनालाई पक्राउ गरेको थियो । पक्राउ परेका तीनजनामाथि अनुसन्धान गर्ने क्रममा थप व्यक्ति समेत प्रहरीको नियन्त्रणमा परेका हुन् । इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरीक्षक भिषण राईका अनुसार अहिलेसम्म पोटासिमय नाइट्रेट कुन प्रयोजनका लागि ल्याइएको भन्ने खुलेको छैन । तर, विराटनगर भन्सार कार्यालयमा सहयोगीको भूमिकामा देखिएर तस्करीको आरोप खेप्दै आएका कुन्दन मण्डललाई प्रहरीले नियन्त्रणमा लिएको छ । एजेन्टको सहयोगीको रुपमा देखिने मण्डल पक्राउ परेपछि यो खुल्ला सीमानाकाबाट नभई फिटकिरीको नाममा भित्र्याएको खुलेको छ ।
विशेष सूचनाका आधारमा चेकजाँच गर्दा प्रदेश ०२–००२ ख १६१८ नम्बरको मिनीट्रकबाट बरामद भएको सामान आयातका लागि कुनै पनि वैधानिक प्रक्रिया अपनाइएको देखिएको छैन । प्रहरीले कार्तिक १० गते विराटनगर–४ का २५ वर्षीय प्रदीपकुमार साह, मोरङको जहदा गाउँपालिका–१ का ४२ वर्षीय भुपेन्द्र राजबंशी र ४२ वर्षीय कार्तिक राजबंशीलाई नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएका उनीहरुमाथि अनुसन्धान गर्ने क्रम जारी रहँदा बरामद सामान प्रहरीको विधीविज्ञान प्रयोगशालामा परीक्षणका लागि पठाइएको थियो । प्रहरी नायव उपरीक्षक राईका अनुसार पोटासियम नाइट्रेट बिष्फोटक पदार्थको रुपमा समेत प्रयोग गर्ने खुलेपछि यसको जालो भित्रका थप व्यक्तिको खोजी र पक्राउ गरिएको हो ।
जसमा विराटनगर–१५ का कुन्दन मण्डललाई पक्राउ गरिएको छ । प्रहरीका अनुसार मण्डल विराटनगर भन्सार एजेन्टका प्रतिनिधि रहेको खुलेको छ । कुन्दन मण्डलाई पक्राउ गर्नु अगाडी प्रहरीले धिरज मण्डललाई पक्राउ गरेको थियो । उनी गाडीबाट सामान लैजाने ढुवानीकर्ता थिए । अहिलेसम्म भारतबाट अवैध रुपमा यसलाई भित्र्याएर पहाडतिर पठाउने गरेको खुलेको छ । जसमा कुन्दन मण्डलको भूमिका देखिएको छ । उनी यस अगाडी पनि अवैध कारोबारीको आरोप खेप्दै आएका व्यक्ति हुन् । आयात अनुमति नलिएको पोटासियम नाइट्रेट प्रकरणमा प्रहरीले आङ्दी शेर्पालाई समेत पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
प्रहरी उपरीक्षक राईका अनुसार घटनाको अनुसन्धान गर्दै जाँदा मोवाइलबाट शेर्पाले सामान बुझ्ने खुलेको हो । प्रहरी अनुसन्धानका लागि नियन्त्रणमा रहेका उनीहरु कसैले पनि कुन प्रयोजनका लागि पोटासियम नाइट्रेट ल्याए भन्ने खुलेको छैन । पक्राउ परेकाहरुमाथि मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद ७ अन्तर्गत विष्फोटक पदार्थ सम्बन्धी कसुर गरेको आरोपमा अनुसन्धान भइरहेको छ । नेपालमा यसको आयात कृषिमा मलखाद, औषधि उत्पादन, शिक्षण संस्थाका प्रयोगशाला वा वैधानिक औद्योगिक प्रयोजनका लागि मात्रै गरिन्छ । तर, आयात वा खरिदमा सम्बन्धित मन्त्रालय वा उद्योग विभागको सिफारिस, गृह वा जिल्ला प्रशासन कार्यालयको पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था रहेको छ । त्यस बाहेक बिक्रेताले खरिद गर्ने व्यक्ति वा संस्थाको परिचयपत्र, प्रयोजन, परिमाणको स्पष्ट अभिलेख राख्नुपर्ने प्रावधान रहेको छ । बिना अनुमति पोसियम नाइट्रेट राखेको वा बिक्री गरेको पाइएमा विस्फोटक पदार्थसम्बन्धी कसुरमा कानुनी कारवाही हुनेप्रावधान रहेको छ ।