विराटनगर । जिपी कोइराला फाउन्डेसनको आयोजना तथा काठमाडौं मेडिकल कलेज (केएमसी) को सहयोगमा कर्णाली प्रदेशका विभिन्न जिल्लामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ।
दुर्गम क्षेत्रका नागरिकलाई विशेषज्ञ स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले आयोजना गरिएको शिविरमा स्वास्थ्य परीक्षण, रोग पहिचान तथा चिकित्सकीय परामर्श प्रदान गरिनेछ। मंसिर ९ गते जाजरकोटको भेरी नगरपालिका, खलङ्गा बजार, मंसिर ११ गते डोल्पाको दुनै, मंसिर १३ गते रुकुम पश्चिमको आठबिसकोट नगरपालिका, राडी बजार र मंसिर १५ गते सल्यानको बागचौर नगरपालिकामा शिविर सञ्चालन हुनेछ।
शिविरमा थप उपचार आवश्यक देखिएका बिरामीलाई केएमसीमा रिफर गरिनेछ। त्यहाँ प्रत्यारोपण र ओपन हार्ट सर्जरीबाहेकका सबै प्रकारका शल्यक्रिया निःशुल्क हुनेछन्। यद्यपि, औषधिको खर्च भने बिरामी आफैंले व्यहोर्नुपर्नेछ। डा. सुनिल शर्माको स्वामित्वमा रहेको केएमसी र नोबेल मेडिकल कलेजले यसअघि पनि विभिन्न दुर्गम क्षेत्रमा शिविर सञ्चालन गर्नुका साथै विपन्न तथा सीमान्तकृत समुदायका विद्यार्थीलाई छात्रवृत्तिमा चिकित्सा शिक्षा प्रदान गर्दै आएका छन्। यो शिविरले आर्थिक अभावका कारण उपचारबाट वञ्चित जटिल रोगीहरूलाई थप राहत पुग्ने अपेक्षा गरिएको छ।