विराट एक्स्पोमा स्टार्टअप पेभिलियन : विचारदेखि लगानीसम्म जोड्दै

<span class='c1'>विराट एक्स्पोमा स्टार्टअप पेभिलियन</span> <span class='c2'>: विचारदेखि लगानीसम्म जोड्दै</span>

विराटनगर । विद्यार्थीले देखेको समस्याबाट नयाँ व्यावसायिक विचार जन्माउने, युवाको सोचलाई व्यवसायको स्वरूप दिने र सञ्चालनमा रहेका उद्यमलाई लगानी तथा बजारसँग जोड्ने उद्देश्य सहित विराट एक्स्पो २०२६ मा स्टार्टअप तथा उद्यमशीलता पेभिलियन सञ्चालन हुने भएको छ ।

उद्योग संगठन, मोरङले आयोजना गर्ने एक्स्पोमा पहिलो पटक विचार देखि व्यवसाय विस्तारसम्मका विभिन्न चरणलाई समेटेर यस्तो पेभिलियन सञ्चालन गर्न लागेको हो ।

उद्योग संगठन अन्तर्गतको विराटनगर इन्क्युबेसन सेन्टर (बीआईसी) ले सञ्चालन गर्ने पेभिलियनमा मेकर स्पेस, डिजाइन स्टुडियो र ग्रोथ स्पेस गरी तीनवटा छुट्टाछुट्टै कार्यक्रम रहनेछन् । ति कार्यक्रममार्फत विद्यालयका विद्यार्थी, कलेजका युवा र सञ्चालनमा रहेका उद्यमलाई लक्षित गरिएको छ । आयोजकका अनुसार एक्स्पो अवधिमा मेकर स्पेस मार्फत ५०० विद्यार्थीलाई सिर्जनात्मक अभ्यासमा सहभागी गराउने, डिजाइन स्टुडियोमा २० वटा व्यावसायिक विचार विकास गर्ने र ग्रोथ स्पेसमा १० वटा वृद्धि उन्मुख उद्यमलाई लगानीका लागि तयार पार्ने लक्ष्य छ ।

मेकर स्पेसमा कक्षा ७ देखि १० सम्मका विद्यार्थीले आफ्नो वरपरका समस्या पहिचान गरी त्यसको समाधानका लागि नमुना उत्पादन बनाउने अभ्यास गर्नेछन । प्रत्येक सत्रमा २५ विद्यार्थी सहभागी हुनेछन् । दैनिक दुई सत्र सञ्चालन गरेर एक्स्पोको १० दिनमा ५०० विद्यार्थीलाई सहभागी गराइने छ ।

कृषि, उत्पादन, फोहोर व्यवस्थापन, दैनिक जीवनमा प्रयोग हुने उपकरण, डिजिटल प्रविधि र स्थानीय उत्पादनको मूल्य अभिवृद्धिजस्ता विषयमा विद्यार्थीले प्रयोगात्मक अभ्यास गर्नेछन । यसमा व्यावसायिक योजना बनाउनुभन्दा आफैँले नमुना बनाएर सिक्ने प्रक्रियालाई प्राथमिकता दिने आयोजकले जनाएको छ ।

त्यस्तै, डिजाइन स्टुडियोमा कलेजका विद्यार्थी तथा युवाले आफ्ना व्यावसायिक विचारलाई व्यवस्थित योजनामा रूपान्तरण गर्ने अवसर पाउनेछन् । यसका लागि छनोट भएका २० समूहले आठ दिनसम्म उद्योगका वास्तविक समस्या, ग्राहकको आवश्यकता, बजार सम्भाव्यता, उत्पादनको मूल्य, लागत तथा आम्दानी र व्यवसाय सञ्चालनको मोडलबारे अभ्यास गर्ने छन् ।

कार्यक्रमको अन्तिम सेसनमा सहभागी समूहले मेन्टर, उद्योगी तथा सम्भावित लगानीकर्ता समक्ष आफ्ना व्यावसायिक प्रस्ताव प्रस्तुत गर्ने छन् । यसलाई पिच डे नाम दिइएको छ । यसबाट नयाँ व्यावसायिक विचार भएका युवाले आफ्नो सोच परीक्षण गर्ने र त्यसलाई व्यवसायमा रूपान्तरण गर्न आवश्यक सुझाव तथा सहयोग पाउने अपेक्षा आयोजकको छ ।

पेभिलियनको तेस्रो कार्यक्रम ग्रोथ स्पेस सञ्चालनमा रहेका उद्यमका लागि राखिने छ । कोशी प्रदेशमा दर्ता भई कम्तीमा एक वर्षदेखि कारोबार गरिरहेका र थप विस्तारको सम्भावना भएका १० वटा साना तथा वृद्धि उन्मुख व्यवसायलाई यसमा समेटिने छ ।

यी उद्यमलाई आफ्नै उत्पादन तथा सेवा प्रदर्शन गर्ने स्थान उपलब्ध गराउनुका साथै वित्त, कानुन, बजारीकरण, सञ्चालन र व्यवसाय विस्तारसम्बन्धी परामर्श दिइनेछ । उनीहरूलाई लगानीकर्ताले बुझ्ने व्यावसायिक योजना र आवश्यक कागजात तयार गर्न पनि सहयोग गरिने छ ।

ग्रोथ स्पेसमा सहभागी हुने १० वटै उद्यम बीआईसीको एसजीबी एक्सेलेरेटर २०२६ कार्यक्रमबाट छनोट भइसकेका हुन् । उनीहरूको व्यावसायिक स्वास्थ्य परीक्षणसमेत गरिएको छ । एक्स्पोमा उनीहरूलाई बिराट बजार बीटुबी प्लेटफर्मसँग जोडेर बजार विस्तार र सम्भावित लगानीकर्तासँग सम्पर्क स्थापित गर्ने प्रयास गरिने छ ।

उद्योग संगठनले यस कार्यक्रमलाई एक्स्पो अवधिमा सीमित नराखी दीर्घकालीन उद्यमशीलता विकासको प्रक्रियासँग जोड्ने जनाएको छ । एक्स्पोमा सम्भावना देखिएका विचार तथा उद्यमलाई बीआईसीका आगामी कार्यक्रम, मेन्टर सञ्जाल र बिराट बजार बीडीएस कनेक्टका सेवासँग जोडिने छ ।

बीआईसीले यसअघि सन् २०२१ मा मेन्टरसिप गाइडबुक तयार गरी इन्क्युबेसन कार्यक्रम सुरु गरेको थियो । त्यसपछि स्टार्टअप तथा नवप्रवर्तन पाठ्यक्रम, इन्क्युबेसन म्यानेजर गाइडबुक र व्यवसाय स्वास्थ्य परीक्षण उपकरण तयार गरेको थियो । सन् २०२५ को विराट एक्स्पोमा स्टार्टअप ह्याकाथन समेत आयोजना गरिएको थियो । त्यसमा ३० वटा विचारबाट १० समूह छनोट गरी तीन समूहलाई विजेता घोषणा गरिएको थियो ।
यसपटक मेकर स्पेस र डिजाइन स्टुडियोमा सहभागी हुन अनलाइन आवेदन खुला गरिने छ । आवेदन नोभेम्बर २५ देखि सुरु हुने र मेकर स्पेसका लागि डिसेम्बर १० र डिजाइन स्टुडियोका लागि डिसेम्बर ८ अन्तिम मिति तोकिएको छ ।

आयोजकका अनुसार पेभिलियनमा नयाँ विचार भएका व्यक्ति मात्र होइन, अभिभावक, शिक्षक, उद्योगी, मेन्टर र लगानीकर्ताले समेत अवलोकन गर्न सक्नेछन् । आवेदन नदिएका आगन्तुकले पनि विद्यार्थीका नमुना, युवाका व्यावसायिक प्रस्ताव र उद्यमका उत्पादन अवलोकन गर्न सक्ने छन ।

एक्स्पोमा लगानीकर्ता र उद्यमीबीच सम्पर्क तथा सम्भावित साझेदारीको अवसर सिर्जना गरिए पनि लगानी सम्झौता हुने सुनिश्चितता भने गरिएको छैन । परियोजनाको सम्भाव्यता, लगानीकर्ताको मूल्याङ्कन र आपसी सहमतिका आधारमा मात्रै वास्तविक लगानी अघि बढ्ने उद्योग संगठनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्