विराटनगर । विराटनगर महानगरपालिका–१६ स्थित लामो समयदेखि बन्द रहेको विराटनगर जुट मिल्सको जग्गामा जथाभावी फोहोर फाल्ने गरिएको पाइएको छ । ट्र्याक्टरमार्फत विभिन्न स्थानबाट फोहोर ल्याएर जुट मिल्सको फिल्डमा फाल्ने गरिएको छ । यसले आसपासका बस्तीमा दुर्गन्ध फैलिनुका साथै स्थानीयवासी र उक्त बाटो भएर आवतजावत गर्ने सर्वसाधारणलाई समस्या भएको छ ।
विराटनगर महानगरपालिका–१२ र १६ को बीचमा पर्ने दरैयामा फोहोर व्यवस्थापनका लागि डम्पिङ साइट निर्माण गरिएको भए पनि जुट मिल्सको जग्गामा समेत मनोमानी ढंगले फोहोर फाल्ने गरिएको हो । जुट मिल्सका एक कर्मचारीका अनुसार उक्त स्थानमा फोहोर नफाल्न पटकपटक आग्रह गर्दा पनि ट्र्याक्टरमार्फत जबर्जस्ती फोहोर ल्याएर फाल्ने गरिएको छ ।
यस विषयमा सम्बन्धित प्रतिनिधि तथा सरोकारवालालाई जानकारी गराउँदा समेत कुनै पहल नभएको कर्मचारीको गुनासो छ । उनका अनुसार मिल्सको जग्गामा फोहोर फालिँदा आसपासका क्षेत्रमा दुर्गन्ध फैलिएको छ भने त्यहाँ बसोबास गर्ने नागरिकसमेत प्रभावित भएका छन् ।

विराटनगर जुट मिल्सका प्रशासन प्रमुख श्याम लामाले भने मिल्सको जग्गामा फोहोर फाल्ने वा फोहोर जम्मा गर्ने विषयमा कुनै पत्राचार नभएको र आफूलाई समेत औपचारिक जानकारी नरहेको बताए । मिल्सको जग्गामा फोहोर वा अन्य सामग्री राख्नुअघि सम्बन्धित निकायबाट अनुमति लिनुपर्ने भए पनि त्यसबारे कुनै जानकारी प्राप्त नभएको उनको भनाइ छ ।
यता, विराटनगर महानगरपालिकाको सरसफाइ शाखाका प्रमुख अशोक गुप्ताले उक्त स्थानमा फोहोर फालिएको विषयमा महानगरपालिकामा कुनै गुनासो नआएको बताए । यसबारे जानकारी पाएपछि आफूले बुझ्ने प्रयास गर्ने उल्लेख गर्दै उनले महानगरको क्षेत्राधिकारभित्र जथाभावी फोहोर फालिएको पाइएमा सम्बन्धित पक्षसँग स्पष्टीकरण सोधिने बताए ।

विराटनगर महानगरपालिकाको वडा नम्बर १२ देखि १८ सम्म फोहोर संकलन गर्ने ठेक्का पाएको सगरमाथा मल्टिसर्भिस प्रालिका प्रमुख धनबहादुर लामाले भने उक्त स्थानमा फोहोर नभई खाल्डो परेको जग्गामा माटो पुर्ने काम भइरहेको दाबी गरे । फोहोर फालिएको भन्ने विषयमा आफूले बुझ्ने उनले बताए ।
तर, जुट मिल्सको जग्गामा माटो वा फोहोर फाल्नुअघि मिल्स प्रशासनसँग अनुमति लिइएको छ कि छैन भन्ने विषय स्पष्ट हुन सकेको छैन । मिल्स प्रशासनलाई जानकारी नहुनु र महानगरपालिकामा समेत औपचारिक गुनासो नपुग्नुले उक्त क्षेत्रमा भइरहेको गतिविधिको अनुगमन तथा नियमनमाथि प्रश्न उठेको छ ।
दैनिक सर्वसाधारण आवतजावत गर्ने बाटो नजिकै फोहोर फालिँदा पैदलयात्रीसमेत प्रभावित भइरहेका छन् । सम्बन्धित निकायले समयमै अनुगमन गरी वास्तविकता सार्वजनिक गर्नुका साथै सार्वजनिक स्वास्थ्य र वातावरणमा असर पर्ने गरी फोहोर फाल्ने कार्य रोक्न आवश्यक देखिएको छ ।