विराटनगर\ आगामी चैत्र १८ गतेदेखि विराटनगरको शहिद मैदानमा आयोजना हुने रमपम विराट गोल्डकपको ट्रफि सार्वजनिक भएको छ । २ लाख ७३ हजार ५ सय रुपैयाको लागतमा निर्माण भएको र २ तोला सुनको जडित ट्रफिलाई आज आयोजना गरिएको पत्रकार सम्मेलन विच सार्वजनिक गरिएको हो । ट्रफि सार्वजनिक गर्दै आयोजक विराट गोल्डकप फुटबल ट्रष्टका सचिव श्याम पौडेलले उक्त ट्रफि सम्भवत संसारकै सवैभन्दा ठुलो गोल्डकप ट्रफि भएको दावी गरे ।
विसं २०१८ सालदेखि महेन्द्र गोल्डकपको नाममा आयोजना हुदै आएको गोल्डकप लामो समयदेखि भएको थिएन । हाल सोहि महेन्द्र गोल्डकपलाई विराट गोल्डकपको नाममा आयोजना गर्न लागिएको हो । विराट गोल्डकपमा नेपालका मुख्य क्लबहरुको समेत सहभागिता रहने छ । गोल्डकपमा थ्रिस्टार, आरसिटि, मनाङ मस्र्याङ्दी क्लबहरुसँगै नाइजेरियाको अफ्रिकन युनाइटेड र हङकङको एक टोली समेत सहभागी हुने आयोजकहरुले बताएका छन् ।
२६ लाख ५० हजार रुपैया भन्दा बढिको खर्चमा गर्न लागिएको गोल्डकपमा विजयी टिमले २ लाख रुपैया सहित गोल्डकपको ट्रफि र दोस्रोले एक लाख रुपैया प्राप्त गर्ने छ ।
प्रत्रकार सम्मेलनमा आयोजक समितिका अध्यक्ष भिम कुवर, उपाध्यक्ष सन्तोष बानिया, विराटनगर उपमहानगर पालिकाका प्रमुख दिलिप चापागाँइ, मोरङ जिल्लाका एसपि प्रद्युम्न कार्की, एशियन थाइ फुड्सका महेश जाजुलगायतको उपस्थिति रहेको थियो ।