केसलिया खोला र भारतसँगको सीमादूरी चुनौती

<span class='c1'>केसलिया खोला र</span> <span class='c2'>भारतसँगको सीमादूरी चुनौती</span>

नवराज कट्टेल

विराटनगर, साउन १२ गते । विराटनगर विमानस्थलको धावनमार्ग विस्तार र स्तरोन्नतिमा सीमा दूरी र खोला ‘डाइभर्सन’ मुख्य चुनौतीका रूपमा देखिएका छन् । अन्तरदेशीय उडान भर्ने गरी विमानस्थल विस्तारको गुरुयोजना तयार भइरहँदा जग्गा प्राप्ति, बस्ती स्थानान्तरणभन्दा पनि केसलिया खोला ‘डाइभर्सन’ र भारतसँगको सीमा दूरीको समस्या चुनौतीका रूपमा देखिएको हो ।
विमानस्थल विस्तारका लागि पूर्व–सम्भाव्यता र यकिन सम्भाव्यता अध्ययनसँगै गुरुयोजना बनिरहेको छ । गुरुयोजनामा केसलिया खोला डाइभर्सनको पाटो समेटिए पनि जहाज अवतरणमा सीमा दूरीको अध्ययनसमेत उत्तिकै जरुरी मानिएको छ ।
अल्पकालीन, मध्यकालीन र दीर्घकालीन अवधारणाका आधारमा विस्तार योजनासहितको गुरुयोजनाले पाँचदेखि २० वर्षमा लक्ष्य प्राप्ति गर्न सक्ने बताइन्छ । विराटनगर नागरिक उड्डयन कार्यालयका प्रमुख टेकनाथ सिटौलाका अनुसार धावन मार्ग दुई हजार चार सय मिटरमा विस्तार गर्ने प्रक्रियाको काम प्राधिकरणबाटै सुरु भइसकेको थियो ।
प्राधिकरणले अल्पकालीन र मध्यकालीन योजना अनुसार धावनमार्ग पूर्वतर्फको साढे चार बिघा जमिन अधिग्रहण गर्ने कार्यसहित जरुरी पर्दै गएका आवश्यक संरचना निर्माणको काम अघि बढाइसकेको थियो । मध्यकालीन योजना अनुसार दुई हजार चार सय मिटरमा धावन मार्ग विस्तारका लागि सम्भाव्यता अध्ययनको कामसमेत भइरहेका बेला धावन मार्गलाई तीन हजार मिटरमा विस्तार गर्ने योजना अगाडि बढेको प्रमुख सिटौलाको भनाइ छ ।
सङ्घीय संरचना अनुसार बनेको प्रदेश १ सरकारले तीन हजार मिटरमा धावन मार्ग विस्तार गर्ने योजना अगाडि सारेपछि सम्भाव्यता अध्ययनसँगै त्यसको समेत गुरुयोजना तयार पार्ने काम भइरहेको हो ।
तर, दुई हजार चार सय मिटर मात्रै विस्तार लक्ष्य राखेर योजना बनाउँदा विमानस्थल पश्चिमतर्फको एक सय बिघा जमिन अधिग्रहण गरेर निर्माण सुरु गर्न सकिन्छ । त्यसका लागि ठूलो बस्ती विस्थापित गर्नुपर्ने, जङ्गल फडानी गर्नुपर्ने र वन्यजन्तुको आरक्ष विस्थापित हुनुपर्ने देखिँदैन । तीन हजार मिटरसम्म धावन मार्ग विस्तार योजना बढाउँदा २५० बिघा जमिन अधिग्रहण गर्नुपर्दछ । तीन हजार मिटरको धावनमार्ग विस्तार गर्ने क्षेत्रमा दुई हजार आठ सय मिटर दूरीमा रहेको केसलिया खोलाको ‘डाइभर्सन’ जरुरी पर्ने प्रमुख सिटौलाले जानकारी दिनुभयो तर खोलाबाहेक अन्य ठूलो बस्ती, जङ्गल र वन्यजन्तु विस्थापित गर्नुपर्ने जरुरी भने पर्दैन ।
केसलिया खोलाको डाइभर्सनका लागि ३.५ किलोमिटरमा ५० मिटर चौडाइको खोला च्यानल निर्माण गर्नुपर्ने हुन्छ । धावन मार्गको बीचमा पर्ने खोला विस्थापनपछि मात्रै निर्माणको बाटो खुल्दछ । विमानस्थलको पश्चिम दिशामा मात्रै अधिग्रहणका लागि जग्गा उपलब्ध भएका कारण तीन हजार मिटरको धावनमार्ग विस्तारका लागि अर्को विकल्प छैन । पूर्व दिशा विस्तारका लागि अधिग्रहण गर्ने जमिन छैन । पश्चिमतर्फ जग्गाको अधिग्रहण गरेर विस्तार योजनासँगै उत्तरतर्फ अन्य संरचनाका लागि थप जमिनको जरुरी पनि उतिकै पर्ने देखिन्छ ।
त्यसबाहेक विराटनगर विमानस्थलदेखि भारतीय सीमा क्षेत्रबीचको दूरी आठ किलोमिटर छ तर ठूला जहाज अवतरण गराउनका लागि आवश्यक पर्ने हवाई दूरीको सम्भाव्यतासमेत अहिले नै अध्ययन गर्नुपर्ने देखिएको छ । आन्तरिक उडानमा भारतीय सीमा क्षेत्रमा जहाज उडाउन पाइँदैन । प्रमुख सिटौलाका अनुसार विमानस्थलदेखि कोसी नदीसम्मको दूरी आठ नटिकल माइल (१८५० मिटर) पर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्