झापा जिल्ला डेङ्गुको उच्च जोखिममा, डेङ्गुको सङ्क्रमण देखिन सुरु

<span class='c1'>झापा जिल्ला डेङ्गुको उच्च जोखिममा,</span> <span class='c2'>डेङ्गुको सङ्क्रमण देखिन सुरु</span>

विष्णुप्रसाद पोखरेल

दमक, भदौ ४। झापा डेङ्गुको उच्च जोखिममा रहेको बताइएको छ । अधिक गर्मी सुरु भएसँगै जिल्लामा डेङ्गुको सङ्क्रमणसमेत देखिन सुरु गरेको छ । भद्रपुर नगरपालिकामा डेङ्गुका बिरामी फेलापरेपछि झापाका स्थानीय तहले यसको रोकथामका लागि उच्च सतर्कतासमेत अपनाउन थालेका छन् ।
यो वर्ष पहिलो पटक झापा जिल्लामा मेचीनगर–३ बाहुनडाँगीकी ३५ वर्षीया शर्मिला राई, उहाँका ११ वर्षीय छोरा अमन राई र २७ वर्षीया देउरानी सरिता राई डेङ्गुको सङ्क्रमणमा परेपछि अहिले स्थानीय तहले यसमा सावधानी अपनाउन सुरु गरेको बताइएको छ । यो सरुवा रोग हो । सरकारी अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीमा निःशुल्क रूपमा किटबाट रोग जाँच गर्न सकिने बताइन्छ ।
लामखुट्टेको टोकाइबाट सर्ने भएकाले गर्मी समयमा यसले महामारीको रूपमा लिनसक्ने स्वास्थ्यकर्मी बताउँछन् । बितेका दुई वर्ष लगातार झापाको दमक नगरपालिकामा यसको महामारी फैलिएको थियो । दमक नगरपालिका स्वास्थ्य शाखा प्रमुख इन्द्र अर्यालका अनुसार दमक डेङ्गुको उच्च जोखिममा रहेको छ । लगातर दुई वर्ष यहाँ महामारी फैलिएकाले यो वर्ष पनि जोखिम रहेको छ । दमकमा डेङ्गुको जोखिम रहेको छ र जोखिम न्यूनीकरणका लागि हामी प्रयत्नशील छौँ –अर्यालले भन्नुभयो ।

झापाको दमकमा जिल्ला अस्पतालका रूपमा रहेको दमक अस्पतालमा डेङ्गुको शङ्कास्पद बिरामीको जाँच निःशुल्क व्यवस्था मिलाइएको अर्यालले जनाउनुभयो । आवश्यक किटसमेत यहाँ निःशुल्क उपलब्ध हुने भएकाले शङ्का लागेका बिरामीले सहज रूपमा यहाँ जाँच गराउन सक्ने उहाँले बताउनुभयो । हामी चाँडै नै बृहत् रूपमा यस विषयमा अभियानसमेत चलाउँदैछौँ –अर्यालले भन्नुभयो ।
दमकमा एकै वर्ष ४२० जनामा डेङ्गुको सङ्क्रमण फेलापरेको थियो । सन् २०१२ मा पहिलो पटक झापाको काँकरभिट्टामा देखिएको डेङ्गुले त्यो समय दुई जनाको ज्यान लिएको थियो । एडिज इजिप्टाई जातको लामखुट्टेले टोकेपछि डेङ्गु सङ्क्रमण हुने गरेको डा. सूर्यनारायण शाह बताउनुहुन्छ । यसबाट बच्ने र रोग लग्न नदिने उपाय लामखुट्टेको टोकाइबाट बच्नुबाहेक अरू केही छैन –डा. शाहले भन्नुभयो ।
पानी जम्ने ठाउँ, बिग्रेका तथा थोत्रा टायरमा जमेको पानी, साना खाल्डामा सफा पानी धेरै दिनदेखि जमेर बसेको भए यस्ता ठाउँमा लामखुट्टेले अण्डा पार्ने गर्छ । बिरामीमा टाउको दुख्ने, रिङ्गटा लाग्ने, आँखाको गेडी दुख्ने, बान्ता हुने, सामान्य ज्वरो आउने र आलस्यता हुने जस्ता लक्षण देखिने भएकाले होसियारी हुन स्थानीय तहले सार्वजनिक सूचना गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्