मोरङको बुंढीगंगा गाउँपालिका–२ गंगाचोकबाट ‘सक्कली’ भन्दै झुक्याएर नक्कली पाउजु बेच्ने भारतीय नागरिक जमशेर आलमलाई प्रहरीले पक्राउ गरेको छ ।
भारतको अररिया अमडा पञ्चायत–५ बस्ने २५ बर्षिय आलमलाई नक्कली चाँदीका गहना विक्री गरिरहेको अवस्थामा नियन्त्रणमा लिइएको बताइएको छ ।
आलमले सोही चोक बस्ने २५ बर्षिया तारा ऋषिदेवलाई झुक्याई सक्कली भनि नक्कली चाँदिको पाउजु विक्री गर्न लागेका थिए । प्रहरीले आलमको साथबाट ७ तोला नक्कली चाँदीको एकजोर पाउजु, ४ ओटा नक्कली सुनको फुली बरामद गरेको छ ।
प्रारम्भिक अनुसन्धानका क्रममा करिब ९ दिन पहिले जमशेरले सोही ठाउँ बस्ने ३५ बर्षिया सेमा ऋषिदेवलाई २ जोर नक्कली चाँदीको पाउजु झुक्याएर विक्री गरेको प्रहरी प्रधान कार्यालय केन्द्रिय समाचार कक्षले जनाएको छ ।
यसैबिच, भारतको सिमलाबाट बांकेको रुपैडियासम्म आउने क्रममा दैलेख कटिस नगरपालिका–५ बस्ने ३६ बर्षिय कालु विकको नगद १ लाख भारतिय रुपैयाँ लुटपाट भएको छ । सोही ठाउँस्थित जगन्नाथ गाउँपालिका बस्ने २३ बर्षिय राजु बिकको पनी २५ हजार भारतीय रुपैयाँ लुटपाट भएको बताइएको छ ।
प्रारम्भिक अनुसन्धानका क्रममा उनिहरुलाई अपरिचित ब्यक्तिहरुले बिस्कुट र पानी खुवाएर बेहोस बनाई साथमा रहेको नगद लुटपाट गरेर भागेको प्रहरी प्रधान कार्यालय केन्द्रिय समाचार कक्षले जनाएको छ । (रातोपाटी)