काठमाडौं भदौ २० । एसिया कप छनोटमा लिग चरणको अन्तिम खेलमा मंगलबार नेपाल हङकङसँग पराजित भयो । मलेसियाको यूकेएम ओभलमा भएको हङकङविरुद्धको खेलमा नेपालको प्रदर्शन बिर्सनलायक रह्यो । अन्तिम खेलमा उत्कृष्ट प्रदर्शन गर्दै छनोटको फाइनल पुग्ने अपेक्षा गरिए पनि त्यसो हुन सकेन । नेपालले हङकङलाई ९५ रनको झिनो लक्ष्य दियो । तर, युवा खेलाडी सन्दीप लामिछानेको प्रदर्शन भने सम्झन लायक रह्यो । लामिछानेले प्रतियोगिता अवधिभर खेलेका ५ खेलमा उत्कृष्ट प्रदर्शन गर्दै १४ विकेट लिए ।
छनोट खेलमा लामिछानेले अन्तिम हङकङसँगको खेलमा सर्वाधिक पाँच विकेट लिएपनि टोलीलाई जिताउन भने सकेनन् । उनको प्रदर्शनले एक पटक पुनः उनी सबैको दृष्टिमा पर्न सफल भएका छन् ।
हङकङका सर्वाधिक रनकर्ता कप्तान अंशुमन रथलाई आउट गरेका उनले उपकप्तान बाबर हायात, क्रिस्टोफोर जेम्स च्याप्टर, किन्चीत साह र इसान खानका महत्वपूर्ण विकेट लिएका थिए । हङकङको एकपछि अर्को विकेट झार्ने क्रममा १० ओभर बलिङ गरे । जसमा दुई मेडन ओभर राखेर २७ रन खर्चिए ।
एसिया कप छनोटमा खराब ब्याटिङका कारण क्रिकेटका महारथी भारत र पाकिस्तानसँग खेल्ने नेपालको सपना अधुरो रह्यो । तर, युवा लेग स्पीनर सन्दीप लामिछानेका लागि भने फलदायी रह्यो । क्यारेबियन लिगपछि एसिया कप छनोटमा सहभागिता जनाउन सीधै मलेसिया पुगेका लामिछानेले पहिलो खेलमा विकेट लिन सकेनन् ।
यूएईसँगको दोस्रो खेलमा ४ विकेट लिएका लामिछानेले मलेसियासँगको तेस्रो खेलमा २ र चौथो सिंगापुरसँगको खेलमा ३ विकेट लिए । प्रतियोगिताभर ५ खेल खेलेका सन्दीपले ४६ ओभर बलिङ गर्दै सर्वाधिक १४ विकेट लिएर १ सय ३३ रन खर्चिए ।
उनको एसिया कप छनोटमा २ दशमलव ८९ को इकोनोमी रह्यो । इन्डियन प्रिमियर लिग (आइपीएल) बाट शूरु भएको लामिछानेको अन्तर्राष्ट्रिय यात्रा क्यानडाको ग्लोबल लिग हुँदै अहिले वेष्ट इन्डिजको क्यारेबियन (सीपीएल) लिगमा खेलेर मलेसिया आएका थिए । उनको खेल प्रदर्शन पनि सुध्रिँदै गएको छ भने हरेक लिगमा उत्कृष्ट गर्दै आएका छन् ।