पाँचथर भदौ २१ । पाँचथरको फिदिम नगरपालिकाले समयमै जन्म र मृत्युदर्ता गराउनेहरुलाई पुरस्कार दिन थालेको छ ।
नगरपालिकाले चालू आर्थिक वर्ष २०७५/७६ को नीति कार्यक्रममार्फत नै ३५ दिनभित्र जन्म र मृत्यु दर्ता गर्न आउनेलाई ५ सय रुपैयाँ पुरुस्कार दिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुवेदीले बताए ।
अहिले फिदिम नगरपालिकाका १४ वटै वडामा समयमै जन्म र मृत्युदर्ता गर्न आउनेलाई पुरस्कार स्वरुप रकम दिने व्यवस्था गरिएको नगर प्रमुख ओनाहाङ नेम्वाङले बताए ।
उनले वडाबाटै ५ सय रुपैयाँ पुरस्कार दिइने बताए । पुरस्कारको व्यवस्थाले समयमै जन्म, विवाह, वसाईसराई र मृत्युदर्ता गर्ने वानीको विकास हुने उनको भनाइ छ ।