‘ए’ डिभिजन लिगमा राष्ट्रिय टोलीका कुन खेलाडी कुन क्लबमा ?

<span class='c1'>‘ए’ डिभिजन लिगमा राष्ट्रिय टोलीका</span> <span class='c2'>कुन खेलाडी कुन क्लबमा ?</span>

कुमार चौलागाइँ (रासस)

काठमाडौं, असोज ८ । यही असोज १३ गतेदेखि सुरु हुने सहिद स्मारक ‘ए’ डिभिजन लिगमा राष्ट्रिय टोलीका मुख्य खेलाडीले ६ क्लबबाट प्रतिस्पर्धा गर्ने भएका छन् ।

लिग सुरु हुन करिब एक सातामात्रै बाँकी छँदा लिगमा सहभागी १४ टोलीमध्ये ६ क्लबले राष्ट्रिय टोलीका खेलाडी अनुबन्ध गर्न सफल भएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा)मा ‘ए’ डिभिजनका लागि १४ क्लबले दर्ता गराएको खेलाडीको सूचीमा मनाङ–मर्स्याङ्दी क्लबले राष्ट्रिय टोलीका सबैभन्दा धेरै पाँच खेलाडी अनुबन्ध गरेको छ ।

मनाङले मिडफिल्डर सुजल श्रेष्ठ, अन्जन विष्ट, विशाल राई, हेमन गुरुङ र डिफेन्डर एवं राष्ट्रिय टोलीको कप्तान विराज महर्जनलाई क्लबमा अनुबन्ध गरेको छ ।

त्यसैगरी, त्रिभुवन आर्मी क्लबबाट गोलकिपर विकेश कुथू, डिफेन्डर सुमन अर्याल तथा फरवार्ड भरत खवास र नवयुग श्रेष्ठले ‘ए’ डिभिजन लिग खेल्नेछन् ।

थ्रीस्टार क्लबबाट गोलकिपर एलन न्यौपाने, डिफेन्डर अनन्त तामाङ, मिडफिल्डर नीराजन खड्का र सुनील बलले खेल्नेछन् ।

च्यासल युथ क्लबबाट देवेन्द्र तामाङ र हेमन्त थापामगरले खेल्नेछन् भने एपीएफ क्लबबाट आदित्य चौधरीले खेल्नेछन् ।

डिफेन्डर दिनेश राजवंशी नेपाल पुलिस क्लबमा आबद्ध छन् ।

स्टार स्ट्राइकर विमल घर्तीमगरको भने अहिलेसम्म क्लबको टुंगो लाग्न सकेको छैन । विमललाई लिन थ्रीस्टार र च्यासल युथ क्लबले छलफल अघि बढाएका छन् ।

यही असोज १३ गतेदेखि सुरु हुने सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उद्घाटन खेल न्यूरोड टिम (एनआरटी) र विभागीय टोली त्रिभुवन आर्मी क्लबबीच हुनेछ । लिगमा १४ ‘ए’ डिभिजन क्लब थ्रीस्टार, मनाङ–मर्स्याङ्दी, नेपाल पुलिस, एपीएफ, आर्मी, जावलाखेल युथ क्लब, फ्रेन्ड्स क्लब, संकटा, मछिन्द्र क्लब, सरस्वती युथ क्लब, च्यासल युथ क्लब, न्यूरोड टिम (एनआरटी), ब्रिगेड ब्वाइज र हिमालयन शेर्पा क्लबले खेल्नेछन् ।

‘राउन्ड रोबिन लिग’को आधारमा हुने सो प्रतियोगितामा कुल ९१ खेल हुनेछन् ।लिगको विजेताले रु ५० लाख, उपविजेताले रु ३५ लाख, तेस्रोले रु २५ लाख, चौथोले रु १५ लाख, पाँचौंले रु सात लाख र छैटौं टोलीले रु पाँच लाख पुरस्कार पाउनेछन् ।

‘फेयर प्ले’ टोलीले रु एक लाख तथा प्रत्येक खेल जितेबापत एन्फाले क्लबलाई रु ५० हजार र ‘म्यान अफ दी म्याच’ हुने खेलाडीलाई रु १० हजार पुरस्कार दिइनेछ ।

लिग विजेता टोलीले एएफसी एसियन कप फुटबलमा सहभागिता जनाउन पाउनेछ । ‘ए’ डिभिजन लिग चार वर्षपछि हुन लागेको हो । पछिल्लोपटक २०७१ सालमा ‘ए’ डिभिजन लिग भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्