एजेन्सी । भारतका कप्तान विराट कोहलीले सचिन तेन्दुलकरको नाममा रहेको सबैभन्दा छिटो दशहजार रन बनाउने कीर्तिमान भंग गरेका छन् ।
विसाखापट्टनममा वेस्ट इन्डिजविरुद्ध २ सय ५ औं एक दिवसीय अन्तर्राष्ट्रिय खेल्दै कीर्तिमान बनाएका हुन् । खेलअघि ९ हजार ९ सय १९ रन बनाएका कोहलीले एस्ले नर्सको बललाई लङअनमा पठाउँदै एकदिवसीय अन्तर्राष्ट्रियमा दश हजार रन पूरा गरेका हुन् । यससँगै उनले १७ वर्षसम्म सचिनको नाममा रहेको कीर्तिमान आफ्नो नाममा लेखाएका छन् ।
यसअघि २००१ मार्च ३१ मा इन्दोरमा सम्पन्न अस्ट्रेलियाविरुद्धको खेलमा सचिनले २ सय ५९ औं इनिङ खेल्दै दश हजार रन पूरा गरेका थिए । त्यसयता अन्य ११ ब्याट्सम्यानले १० हजार रन बनाइसके पनि सबैभन्दा छिटो दश हजार रन बनाउने कीर्तिमान सचिनकै नाममा थियो ।
कोहलीबाहेक भारतका तीन कप्तान सौरभ गांगुली, राहुल द्रविड र महेन्द्र सिंह धोनीले पनि १० हजार रन पूरा गरेका छन् । गांगुलीले २ सय ६३, धोनीले २ सय ७३ र द्रबिडले २ सय ८७ खेलमा दश हजार पुरा गरेका हुन् ।