उर्लाबारी, मङ्सिर ६ गते । सरकारले पशुपालन गर्ने किसानलाई सम्मानका साथै अनुदानसमेत दिन थालेपछि मोरङको उर्लाबारी–१ का कृष्ण आचार्य सरकारी जागिर छोडेर व्यावसायिक गाईपालन गरिरहनुभएको छ । माध्यमिक तहमा १२ वर्ष नेपाली विषय अध्यापन गराउनुभएका आचार्यले चक डस्टर छोडेर गोबर सोहोर्दै गाई दुहुन थालेको छ वर्ष भएको छ ।
आचार्यले भोजपुरको चम्पे माविमा आठ वर्ष, चरम्वीमा दुई वर्ष र याकुमा दुई वर्ष शिक्षण गर्नुभयो । शिक्षण गर्दा उहाँलाई कुनै समस्या थिएन । महिना मरेपछि तलब पाकिहाल्ने । १२ वर्ष काम गर्दा ३९ वर्षीय आचार्यले सरकारी जागिरबाट दाम मात्र प्राप्त गर्नुभयो ।
विद्यार्थीलाई पढायो, घर फक्र्यो । सरकारी जागिरको दैनिकीबाट मान र सान प्राप्त गर्न नसकेपछि आचार्यले २०७० को साउन २ गते महिनाको २४ हजार चार सय तलब आउने जागिरबाट राजीनामा दिएर गाईको गोबर सोहोर्न थाल्नुभयो । शुरुका दिनमा उहाँलाई घाँसपानी, कुँडो खोले गर्न धेरै गाह्रो भयो । पत्नी अम्बिका र परिवारका सबै सदस्यको साथ पाएपछि आचार्यले तीन वर्ष नपुग्दै आफ्नो गोठलाई आकृति कृषि फारममा बदल्नुभयो ।
उहाँको गोठमा अहिले नौवटा दुहुना गाई, १३ वटा ब्याउने गाई, सातवटा बाछाबाछी र एउटा साँढेगोरु रहेका छन् । दैनिक ८०÷९० लिटर दूध उत्पादन गर्दै आउनुभएका आचार्य १५÷२० लिटर दूध गाउँमै बेच्नुहुन्छ भने बाँकी पथरी र उर्लाबारीका डेरी उद्योगमा बिक्री गर्नुहुन्छ । दैनिक चार हजार रुपियाँँको दूध बेच्दै आउनुभएका आचार्य हाल खर्च कटाएर मासिक ७५ देखि ८० हजार रुपियाँ आम्दानी गरिरहनुभएको छ ।
गाईपालनमा उहाँको ३४ लाख रुपियाँ खर्च भइसकेको छ । आचार्य भन्नुहुन्छ, ३४ लाखभन्दा बढी मूल्यका गाईगोठमै छन् । एउटा बाछी १२ देखि १६ महिनामा ३० हजारसम्ममा बिक्री हुने बताउँदै उहाँले भन्नुभयो, दूधको मूल्य लगानीको तुलनामा कमी भयो । सरकारले दाना र औषधि उपचारमा सहयोग गर्ने हो भने दूधमा जिल्लालाई आत्मनिर्भर बनाउने आँट आएको छ । अझै बढी दूध उत्पादन गर्न सकिने भए पनि बजारको अभाव भएको उहाँको भनाइ छ । उर्लाबारीमा दूध चिस्यान केन्द्र र प्रशोधन उद्योगको स्थापना भए गाईपालन अझै विस्तार गर्ने आचार्यले बताउनुभयो ।
उहाँले सबै गाईको बीमा पनि गर्नु भएको छ । जिल्लामै गाई पाल्ने साना फारममध्ये आचार्यको फारम यही वर्ष सर्वोत्कृष्ट भएको भयो । जिल्ला पशु सेवा कार्यालय मोरङले उत्कृष्ट भएबापत चार लाख रुपियाँ अनुदान दिएपछि हौसिएका आचार्य जागिर छोडेर पनि प्रशन्न हुनुहुन्छ । भन्नुहुन्छ, हिजो एउटा शिक्षक थिएँ, आज मोरङको उत्कृष्ट किसान भएर चिनिएको छु । आचार्य आफ्नो गोठमा आफैँ काम गर्नुहुन्छ । घाँस काट्ने, कुँडो पकाउने मात्र होइन, भकारो फाल्ने, गाई दुहुने र डेरीसम्म पु¥याउने काम उहाँ आफै गर्नुहुन्छ । त्यसो त दुई भाइ र बुहारीले कृष्ण र अम्बिकालाई पूरै भरथेग गरेका छन् ।
गाई पाल्दाको सबैभन्दा सुपथ आम्दानी गोबर बिक्रीबाट भएको उहाँको ठम्याइ छ । प्रत्येक चार महिनामा छ ट्याक्टर गोबर बिक्री गर्दै आउनुभएका आचार्यले प्रतिट्याक्टर तीन हजारका दरले गोबर मल बेचेको सुनाउनुभयो । त्यति मात्र होइन दस कट्ठा रुखो जग्गालाई उहाँले हराभरा बनाइसक्नु
भएको छ ।