विराटनगर, २२ माघ। फागुन २८ देखि सुरु हुने महिला साफ फुटबल च्याम्पियनसिपका लागि मैदान र सडक मर्मतको काम तिब्र बनाइएको छ । एक महिनाभित्र सक्ने लक्ष्यसहित शहीद रंगशालासम्म पुग्ने सडक र खेल मैदान मर्मतको काम तिब्र बनाइएको हो ।
पहिलो पटक विराटनगरको शहीद रंगशालामा आयोजना गरिने प्रतियोगिताको तयारी फागुन १५ गतेभित्र सक्ने लक्ष्य राखिएको अखिल नेपाल फुटबल संघ एन्फा उपमहासचिव बसन्त अर्यालले जानकारी दिए । मैदान मर्मत, प्लेयर बक्स र चेन्जिङ रुमको निर्माणको काम भइरहेको उनले बताए । मैदानमा झार हुर्काउने काम पनि भइरहेको छ । विकास परियोजना अन्तरगत रंगशालासम्म पुग्ने बाटो र मेनरोडमा ढलको पाइप बिच्छयाएर निर्माणको काम गरिरहेको मेयर भीम पराजुलीले जानकारी दिए । ‘साफ सुरु हुन अघि नै सडकको काम सक्छौं’ उनी भन्छन् ‘ठेकेदारलाई दिउँसो र राती पनि काम गर्न लगाएका छौं ।’
पराजुलीले खेलाडी बस्ने होटल सम्म पुग्ने सडक र प्रशिक्षण गर्ने स्थानसम्म पुग्ने सडकको पनि स्तरउन्नती र मर्मत गरिने बताए । प्रशिक्षणका लागि विराटनगर जुट मिलको खेल मैदान, दिल्ली पब्लिक स्कुलको खेल मैदान र दुहबीको खेल मैदान प्रयोगमा आउने बताए ।