इनरुवा । होली मनाउन घरबाट निस्केका सुनसरीको इनरुवा नगरपालिका वडा नम्वर ५ का तिर्थराज भट्टराई बलाहाको नहरमा मृत अवस्थामा भेटिएका छन् ।
घरबाट दिउँसोको समयमा निस्केका भट्टराई हिजो साँझ बलाहाको नहरमा घोप्टो परेको अवस्थामा मृत फेला परेका हुन् । स्थानीयहरुले देखेपछि प्रहरीलाई खबर गरिएको थियो । इनरुवा अस्पताल पुर्याउँदा स्वास्थ्यकर्मीहरुले उनको मृत्यु भैसकेको बताएका थिए ।
शव पोष्टमाटमकालागि इनरुवा अस्पतालमा राखिएको छ । घटना उपर अनुसन्धान थालिएको सुनसरी प्रहरीले जनाएको छ । मृतकका परिवारले घटना सुनियोजित हुन सक्ने भन्दै निष्पक्ष छानविनको माग गरेको छ ।
प्रहरीले भने होलीको दिन भएकाले भाङ वा मादक पदार्थ सेवन गरी अचेत अवस्थामा घटना हुन पुगेको अनुमान गरेको छ । यद्यपि मृत्युुको कारण पोष्टमाटम रिपोर्ट पश्चात यकिन हुने प्रहरीले जनाएको छ ।
यसअघि होलीकै क्रममा धरानमा दुई समूहबिच झगडा हुँदा छुरा प्रहारबाट धरान ८ का २० वर्षिय निमा तामा»को ज्यान गएको थियो । सो घटनामा मिलन विक घाइते भएका छन् ।