विराटनगर १३ चैत । मोरङ्गको लेटाङ्ग ९ का स्थानीयले एउटा बयस्क भाले हरिण नियन्त्रणमा लिएका छन् । सो ठाउँमा रहेका फिरन्ते कुकुरहरुले जंगलक्षेत्रबाट खेद्दै गाउँसम्म ल्याएको हरिणलाई जाँतेकोे बुद्ध चौकका स्थानीयले नियन्त्रणमा लिएका हुन् । स्थानीयले बुधबार बिहान सात बजेतिर ६, ७ वटा कुकुरले खेद्दै ल्याएको हरिण देखेका थिए ।
स्थानीयले हल्लाखल्ला गरेपछि कुकुरहरु भागेको अनि स्थानीयले लगाएको बारमा अल्झिएको हरिणलाई नियन्त्रणमा लिएका लेटाङ्ग ९ का भुमिराज कट्वालले बताउनुभयो । कुकुरको आक्रमणबाट घाईते भएको हरिणलाई नियन्त्रणमा लिएको र संरक्षणका लागि सव डिभिजन वन कार्यलय मंगलबारेमा बुझाईएको स्थानीय सदाबहार सामुदायिक वनका अध्यक्ष सुजित बुडाथोकीले बताउनुभयो । हरिणलाई स्थानीय वसन्त हरियाली सामुदायीक वनका अध्यक्ष सन्त राई, जाँते सव डिभिजन वन कार्यालयका हिमबहादुर बस्नेतलगायतको रोहवरमा बन कार्यालयलाई जिम्मा दिईएको हो ।
फिरन्ते कुकुरहरुले यसअघि पनि जंगल पसेर पटक पटक हरिण, चित्तल, खरायो, बँदेल जस्ता जंगली जनावर मार्ने गरेको एवं स्थानीयले चराउन जंगल लगेका बाख्रा समेत मारिदिने गरेको स्थानीयले बताएका छन्।