छोरीको विवाहका लागि जोहो गरेको नगद आगलागीमा जलेर खरानी,छोरीको विवाहको चिन्ता

<span class='c1'>छोरीको विवाहका लागि जोहो गरेको नगद</span> <span class='c2'>आगलागीमा जलेर खरानी,छोरीको विवाहको चिन्ता</span>

लहान, चैत १४ गते । छोरीको विवाहका लागि जोहो गरेको नगदसहित सम्पूर्ण सामान आगलागीमा जलेर खरानी भएपछि सप्तरीको सुरुङ्गा नगरपालिका– ९ प्रमाणपुरका एक परिवार अहिले ठूलो बिजोगमा परेको छ ।

धुमधामका साथ छोरीको बिहे गर्छु भन्ने ठूलो सपना देखेका प्रमाणपुरका स्थानीय विद्यालाल मण्डलको परिवार विवाह कसरी गर्ने भन्ने चिन्तामा डुबेको हो । यही चैत २ गते अचानक भएको आगलागीमा छोरीको विवाहका लागि साहुमहाजनसँग ऋण लिएर जोहो गरेको नगद रु तीन लाख र सुनचाँदीको गरगहना तथा अन्नपातलगायतका सबै समान आगलागीमा जलेर नष्ट भएपछि यतिबेला बिजोगमा परेको विद्यालाल बताउनुहुन्छ ।

“बिहेको सबै तयारी हुँदै थियो, समान पनि किनेर घर भित्र्याइसकेको थिएँ”, उहाँ भन्नुहुन्छ, “तर अचानक बस्तीमा आगलागी भयो, घरको सबै सामान जलेर खरानी भएपछि ठूलो सङ्कटमा परेको हुँ ।” आगलागीमा न त टाउको लुकाउने रह्यो न त एक मुठी अन्न नै, अब कसरी छोरीको विवाह गर्ने भन्ने ठूलो चिन्तामा परेको उहाँ सुनाउनुहुन्छ ।

विद्यालालको तीन छोरीमध्ये जेठी छोरी मञ्जु कुमारीको यही वैशाख ४ गते सिरहाको लहान नगरपालिकास्थित ब्रह्मान गोर्छारीमा तय गरिएको छ । बिवाह नजिकिँदै गएका बेला एक्कासी आगलागीले घरबारविहीन बनाइएपछि उहाँको सात जनाको परिवार त्रिपालमुनि दिन बिताउँदै आएका छन् । स्थानीय बद्री मण्डलको घरबाट सल्केको आगो फैलिएर आगलागी हुँदा विद्यालालसहित स्थानीय आठ परिवारको १० वटा घर जलेर नष्ट भएको थियो ।

यसैबीच आगलागीबाट घरबारविहीन भएपछि छोरी विवाहको चिन्तामा डुबेको विद्यालालको परिवारलाई बुधबार नेपाल जनउत्थान प्रज्ञा समाज सप्तरीले आर्थिक सहयोग प्रदान गरेको छ । आगलागी भएको दुई दिनपछि नै चामल, दाल, कपडालगायतको राहत सहयोग गरेको समाजले आज छोरीको विवाहमा सहयोग पुगोस् भन्ने उद्देश्यका साथ विद्यालालको परिवारलाई नगद रु ५० हजार प्रदान गरेको हो । समाजका अध्यक्ष मो अल्लाउदीन र सुरुङ्गा नगरपालिका–९ का वडाध्यक्ष पुथ्वीविलास चौधरीले विद्यालाललाई सो नगद प्रदान गर्नुभयो । आर्थिक अवस्था कमजोर रहेकाले छोरीको विवाह गर्न समस्या भएको पीडित परिवारको बेदना सुनेर आर्थिक सहयोग गरेको समाजका अध्यक्ष मो अल्लाउदीनले बताउनुभयो । समाजले सो बस्तीका अग्निपीडित परिवारको समस्यालाई मध्यनजर गरी बस्तीमा तीन थान ट्युबेलसमेत जडान गरिदिएको छ । (रासस)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्