इटहरी — सुनसरीको रामधुनी नगरपालिकास्थित झुम्का कारागार पछिल्लो समय सुधार गृहका रूपमा परिचित बन्दै गएको छ । नेपालको दोस्रो ठूलो कारागार भए पनि केही समय अघिसम्म कारागारको अवस्था दयनीय थियो ।
पछिल्लो समय यसको अवस्थामा भने सुधार आएको छ । कारागारमा कैदीबन्दी कोही पुस्तकालयमा पत्रपत्रिका पुस्तक पढ्दै गरेका भेटिन्छन् । कोही फर्निचरको काम त कतिपय भने मुढा बुन्दै गरेका हुन्छन् । कोही भने संगीतमा रमाइरहेका भेटिए ।
यस्तै कतिपय अनौपचारिक कक्षामा पढिरहेका हुन्छन् । अधिकांश कैदी कारागारमा आएपछि आफूलाई निकै सुधार गरेको बताउँछन् । कारागारमा सञ्चालित कर्मवाद ब्यान्डका सदस्यले कारागार आएर धेरै कुरा सिक्न पाएको बताए । ‘गल्ती महसुस गरिरहेको छु । जेल जिवन छुटेपछि अवष्य राम्रो काम गर्नेछु,’ उनले भने, ‘जेल आएको भन्दा पनि सुधार केन्द्रमा छु जस्तो लाग्छ ।’