झापाको स्थानीय तहबाट बारामा २३ लाख राहत

झापाको स्थानीय तहबाट बारामा २३ लाख राहत

भद्रपुर, २१ चैत । झापामा बुधबार बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले बारा र पर्साका हुवाहुरी पीडितलाई राहत प्रदान गर्ने निर्णय गरेको छ।

प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको अध्यक्षतामा बसेको बैठकले स्थानीय तहका नगरपालिकाबाट न्यूनतम रु २/२ लाख, गाउँपालिकाहरूबाट रु १/१ लाख सङ्कलन गरेर राहत पठाउने निर्णय गरेको हो।

झापामा ८ नगरपालिका र सात वटा गाउँपालिका रहेका छन्। स्थानीय तहबाट सङ्कलित रु २३ लाख र स्थानीय संघसंस्थाबाट प्राप्त रकम बारा जिल्ला विपद् व्यवस्थापन समितिको कोषमा पठाइने प्रजिअ दाहालले जानकारी दिए।

बैठकमा स्थानीय तहका प्रमुखहरूले सो रकम चार दिनभित्रमा बारा जिल्ला विपद् व्यवस्थापन समितिको कोषमा जम्मा गर्ने बताए। प्रजिअ दाहालले प्राकृतिक प्रकोपमा परेका बाराबासीलाई सहयोग गर्न जिल्लाका सबै संघसंस्थाहरूलाई समेत सहयोगका लागि आह्वान गरेका छन्।

बुधबार नै नेपाल रेडक्रस सोसाइटी झापा शाखाले रु एक लाख २७ हजार २०० बारा रेडक्रस सोसाइटीको राष्ट्रिय वाणिज्य सङ्घमा रहेको खातामा जम्मा गरिदिएको सोसाइटी झापाका सभापति लोकराज ढकालले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्