विराटनगर, २१ चैत । जन्मसिद्धका सन्तानलाई वंशजको नागरिकता वितरण सुरु गरिएको जिल्ला प्रशासन कार्यालय मोरङमा नागरिकता लिन आउनेको भीड लागेको छ।
जिल्ला प्रशासन कार्यालय मोरङले बिहीबार एकै दिनमा १ सय ३८ जनाले वंशजको नागरिकता लिएका हुन्। प्रशासन कार्यालयले दिएको तथ्यांकअनुसार अन्य ६२ जनाले प्रक्रिया पुरा गरेर नागरिकता लिने लाइनमा छन्। गृहमन्त्रालयले परिपत्र गरेलगत्तै पहिलो पटक मोरङबाट बुधबार इशा चौधरी अग्रवालले वंशजको नागरिकता प्राप्त गरेकी थिइन्। .
नागरिकता लिनेको भीड बढेसँगै जिल्ला प्रशासन कार्यालयले नागरिकता सिफारिस फाँटमा कर्मचारी थप गरेको सहायक प्रमुख जिल्ला अधिकारी उमेश प्रसाद पाण्डेले बताए। ‘नागरिकता लिन आउनेको भीड बढेपछि काम सहज होस भनेर सिफारिसमा दुई जना प्रशासकीय अधिकृतलाई खटाएका छौं,’ पाण्डेले भने। यस्तै जिल्ला प्रशासनले सहायक कर्मचारी थप सात जना खटाइएको छ। नागरिकता नहुँदा उच्च शिक्षा तथा सामान्य रोजगारी गर्नसमेत समस्या हुँदै आएको आफ्नी छोरी रुहि अग्रवालको नागरिकता बनाउन पाउँदा आफूलाई खुसी लागेको विराटनगरका श्रवण अग्रवालले बताए। अहिले खुलेको नागरिकता फेरि बन्द हुने हो की भन्ने डर आफूलाई भएर तत्काल आएको उनको भनाइ छ।
मोरङमा २० हजार ४ सय ९१ जनाले जन्मका आधारमा नागरिकता प्राप्त गरेका छन्। मोरङमा वि.सं. २०२० सालदेखि चालु आर्थिक वर्षको चैत २० गतेसम्ममा १५ हजार ८ सय चार जनाले वैवाहिक अंगिकृत नागरिकता प्राप्त गरेको जिल्ला प्रशासन कार्यालयको तथ्यांकमा उल्लेख छ।