सुनसरी, १२ जेठ । सुनसरीको धरान उपमहानगरपालिका साउनेमा लुटेरा समूहले गोली प्रहार गरी एक जनाको साथबाट ४ लाख लुटेका छन् ।
आज दिउँसो हतियारधारी समूहले जीवन विकास लघु वित्त संस्थाका कर्मचारी शम्भु गच्छदारलाई गोली प्रहार गरी ४ लाख १० हजार नगद लुटेर लगेका हुन् ।
मोरङको केराबारी गाउँपालिका ५ बाट धरान जाने क्रममा लुघवित्त संस्थामा कार्यरत शम्भुप्रसाद गच्छदार अज्ञात समूहबाट लुटिएका हुन् । उनी केराबारीबाट लघुवित्त संस्थाको पैसा संकलन गरेर कार्यालय फर्किदै गर्दा लुटिएको धरान इलाका प्रहरीले जनाएको छ ।
बायाँ कम्मरमा गोली लागेर घाईते भएका गच्छदारको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । लुटेराहरुको खोजी भइरहेको धरानका प्रहरी प्रमुख एसएसपी शरद खत्रीले जानकारी दिए ।