इटहरी, १९ जेठ । प्रदेश नम्बर १ को इटहरीमा पाउडर दूध प्लान्ट बन्ने भएको छ । २८ करोडको लागतमा निर्माण हुने मिल्क पाउडर प्लान्ट उद्योगको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले शुक्रवार शिलान्यास गरेका छन् ।
प्रदेश सरकारको २० करोडको अनुदानमा कामधेनु दुग्ध सहकारी संस्थाले पाउडर प्लान्टको स्थापना गर्ने भएको हो । प्रदेश नम्बर १ मा प्रत्येक दिन खेरगइरहेकोे ५० हजार लिटर दूधलाई पाउडर बनाउन सुनसरीको तरहरा स्थित कामधेनु सहकारीले पाउडर प्लान्ट उद्योग बनाउने भएको होे ।
कुल २८ करोड ६१ लाख २३ हजारको लागतमा पाउडर प्लान्टको स्थापना गरिने बताइएको छ । जसमध्येको ७० प्रतिशत रकम अर्थात २० करोड प्रदेश सरकारले अनुदान दिनेछ । कामधेनुले विभिन्न डेरीसँग दूध खरीद गरी प्रशोधन गरेर धूलो दूध बनाएर बेच्नेछ ।
दैनिक ५० हजार लिटर दूध प्रशोधन गर्ने क्षमताको प्लान्ट लगाउन लागिएको कामधेनुका अध्यक्ष बाबुराम दाहालले बताए । कार्यक्रममा प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले कृषि क्षेत्रको विकासमा प्रदेश सरकार लाग्ने बताएका छन् ।