विराटनगर, ३२ जेठ ।
विराटनगका पत्रकार शंकर खरेलले पुरस्कारबाट पाएको रकम बिद्यार्थीकोलागि खर्च गरेका छन् । न्यू सृष्टि दैनिकका प्रकाशक/प्रधान सम्पादक खरेललाई कदर गर्दै मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ तथा दाहाल प्रतिष्ठान बितरण गरेको पुरस्कार बालबालिकाको बिद्यालय पोशाकमा खर्चिएका हुन् ।
पुरस्कारवाट प्राप्त ६० हजार परोपकार आधारभूत विद्यालय विराटनगर १ का ४० जना बालबालिका र विराटनगर १९ मा रहेको सार्वजनिक माध्यमिक विद्यालयका ३ गरी जम्मा ४३ जना छात्रछात्रालाई विद्यालय पोशाक वितरण गरेका हुन् ।
पोसाक वितरण कार्यक्रममा विराटनर महानगरपालिकाका प्रमुख भीम पराजुलीले नगरक्षेत्रका सामुदायिक विद्यालय सुधारकालागि ऐन वनाई कार्य गर्ने बताए । पराजुलीले विद्यालयको विग्र्रँदो अबस्थालाई टुलुटुलु हेरेर नबस्ने भन्दै बिद्यालय सुधारमा आफ्नो भुमिका सँधै रहने बताए ।
उनले आगामी वर्ष नगर क्षेत्रका १० वटा सामुदायिक विद्यालयलाई नमूना वनाउने र यसका लागि ५० लाख वजेट छुट्याएको जानकारी दिए । नेपाल पत्रकार महासंघ प्रदेश अध्यक्ष विक्रम लुईटेलले राज्यको सोच सामुदायिक विद्यालयलाई आगाडि बढाउनु रहेको बताउँदै यस्तो सामाजिक कार्यवाट पत्रकारलाई हेर्ने देष्टिकोणमा परिवर्तन आउने टिप्पणी गरे । ।
न्यू सृष्टिका प्रधान सम्पादक शंकर खरेलले आफुले प्राप्त गर्ने पुरस्कारको राशी आगामी दिनमा पनि यसरी शिक्षा तथा सामाजिक क्षेत्रको काममा खर्चिने बताए । त्रिवेणी वचतका अध्यक्ष गणेशप्रसाद उप्रेती, मोरङ व्यापार संघका नव निर्वाचित अध्यक्ष प्रकाश मून्दडा, उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे र वडा नं १ का वडाध्यक्ष उद्धव अर्यालले परोपकार विद्यालयमा पुस्तकालय, दिवा खाजा आदिका लागि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।