प्रदेश १ मा सरकारले गरेका कामबारे प्रमुख प्रतिपक्षी कांग्रेसका सांसदले गरे चर्को टिप्पणी

<span class='c1'>प्रदेश १ मा सरकारले गरेका कामबारे प्रमुख</span> <span class='c2'>प्रतिपक्षी  कांग्रेसका सांसदले गरे चर्को टिप्पणी</span>

विराटनगर, १९ असार । प्रदेश १ मा सरकारले गरेका कामबारे प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदले चर्को टिप्पणी गरेका छन् । कांग्रेस संसदीय दलले बिहीबार कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालासँग ‘संसदमा कांग्रेसको भूमिका’ विषयमा छलफलमा सहभागी सांसदले सरकारको गतिविधि ‘सिक्दै छौं, अनुभव गर्दै छौं र सिकाउँदै छौं’ भन्नेमै सीमित भएको टिप्पणी गरे ।

प्रतिपक्षी दलका नेता राजीव कोइरालाले सदनमा कांग्रेसले प्रतिपक्षीको रुपमा गहन र जिम्मेवार ढंगले भूमिका निर्वाह गरेको बताउँदै भने,‘‘सरकारका काम कारबाहीलाई हामीले गम्भीर रुपमा लिने त्यसबारे आफ्नो धारणा राख्ने र जनताका आवाजलाई सरकारसमक्ष ल्याउने काम गरेका छौं ।’’ कोइरालाले प्रदेश सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको टिप्पणी गरे ।

प्रमुख सचेतक केदार कार्कीले प्रदेश संसदमा प्रमुख प्रतिपक्षीको रुपमा कांग्रेसको भूमिका कमजोर नभएको दाबी गरे । उनले भने,‘‘विधेयकमाथिको सैद्धान्तिक छलफलदेखि सरकारको कामलाई खबरदारी गर्ने काममा हामीले गहन ढंगले काम गरेका छौं ।’’ कार्कीले जनताका धेरै विषयलाई सदनमार्फत उठाए पनि सरकारले खासै चासो नदिने गरेको बताए ।

सांसद नवोदिता चौधरीले आफूसँग संविधान सभाको अनुभव रहे पनि प्रदेशमा भने अली व्यवस्थित ढंगले प्रतिपक्षीले समेत आफ्नो प्रस्तुति दिन नसकेको बताइन् । उनले भनिन् ,‘‘कांग्रेसभित्रै पनि विषयलाई समीक्षा गर्ने । छलफल चलाउने र एकत्रित रुपमा पार्टीकै धारणा लिएर सदनमा प्रस्तुत हुन सकिएको छैन ।’’ उनले महत्वपूर्ण विषयमा पार्टीले नै प्रशिक्षणजस्ता कार्यक्रमलाई गति दिनुपर्ने सुझाव दिइन ।

सांसद शेखरचन्द्र थापाले सदनमा व्यक्ति बोलेको कुरा भन्दा पनि दलको ‘एजेन्डा’ के हो त्यो महत्वपूर्ण हुने तर्क गरे । प्रदेशसभामा कांग्रेसको भूमिका निकै सशक्त र प्रभावकारी बनेको भन्दै उनले प्रतिपक्षी दलका नेताले निकै राम्रो उपस्थिति दर्शाउन सक्षम रहेको बताए । सांसद शिवनारायण गन्गाईले प्रदेश संसदका के-कस्ता विषय उठान गर्ने भन्ने विषयमा पार्टीभित्र पनि घनीभूत छलफल हुन जरुरी रहेको सुझाए । सांसद हिमाल कार्कीले पार्टीको प्रदेश कमिटी नबन्दा संसदीय दलको कोसँग जिम्मेवार हुने वा आवश्यक सुझाव माग्दा पार्टीको कुन तहमा पुग्ने भन्ने अन्योल भएको बताए । कांग्रेस सांसद लोकप्रसाद संग्रौलाले कांग्रेसको भूमिकालाई सदनमा अझ सशक्त बनाउन धेरै प्रयास हुनुपर्ने बताए ।

कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाले केन्द्रको प्रतिनिधि सभामाभन्दा तल प्रदेश संसदमा प्रमुख प्रतिपक्षीको रुपमा कांग्रेसको भूमिका निकै उत्साहप्रद रहेको बताए । कोइरालाले भने,‘‘नेकपा गणतन्त्र संस्थागत नहोस भन्ने पक्षमा छ । कांग्रेसले प्रदेशलाई पनि फेलियर बनाउने गतिविधि गरेको छ । त्यही भएर यसलाई संस्थागत गर्ने जिम्मेवारी अब कांग्रेसको हो ।’’

कोइरालाले प्रदेश रहला-नरहला भन्ने अहिल्यै जनस्तरसम्म पनि बहस छेडिएको अवस्थामा यो संविधानत आएकोले अब कांग्रेसले नै संस्थागत गर्न भूमिका खेल्नुपर्ने सुझाव दिए । ‘‘संघीय सरकारले प्रदेशलाई सबल बनाउने सोचेकै छैन । उसले तल दिएको बजटले नै यो पुष्टि हुन्छ,’’ कोइरालाले भने,‘‘तर, अब कांग्रेसले महत्वपूर्ण जिम्मेवारी पाएको छ । यो कुरा जनतासमक्ष लग्नैपर्छ ।’’ उनले प्रदेशलाई सबल बनाउन यहींबाट प्रयास हुनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्