विराटनगर २४ असार । श्रम तथा रोजगार कार्यालय विराटनगरमा वैदेशिक रोजगारी ठगीका उजुुरी दिनप्रतिदिन आउने गरेका छन् ।
यसैविच मंगलबार मोरङ र सुनसरी जिल्लाका ९ जना युवा श्रम कार्यलयमा न्यूजील्याण्ड पठाइदिने भन्दै आफूहरुसँग पैसा लिएर ठगी गरेको भन्दै उजुरी दिन पुगेका छन् ।
सुनसरीको दुहबी नगरपालिका–११ का दिवाकर तब्दार र भोजपुर घोडेटारका दिनेश राईले मिलेर आफूहरु १५ लाख ७० हजार रुपैयाँ ठगीमा परेको भन्दै बरिष्ठ श्रम अधिकृत प्रेमप्रसाद सञ्जेललाई भेटेर उजुरी दिएका हुन् ।
ठगी पर्नेमा मोरङको ग्रामथान गाउँपालिका–५ का मनभरुकुमार माझी, ग्रामथान–६ का कान्छाकुमार माझी, सत्यनारायण माझी, ग्रामथान–३ का लक्ष्मीकुमार माझी, सुनसरीको दुहवी नगरपालिका–११ का रविनकुमार चौधरी, आशिष तब्दार, कमलकुमार चौधरी, मोरङको बूढीगंगा गाउँपालिका–४ मुकेश मगर, विराटनगर महानगरपालिका–१९ का जीतेनकुमार माझी रहेका छन् ।
[caption id="attachment_89804" align="alignnone" width="1054"] मोरङको ग्रामथान गाउँपालिका–५ का मनभरुकुमार माझी वरिष्ठ श्रम अधिकृत प्रेम सञ्जेललाई आफू ठगीएकोबारे जानकारी गराउदै ।
तस्वीर : प्रेम देवान आवर विराटनगर[/caption]
उनीहरुबाट एक जनासँग एक लाख ७० हजार र अरुबाट प्रति व्यक्ति एक लाख ७५ हजार रुपैयाँ उठाएर ठगी गरेको कार्यालयले जनाएको छ । बरिष्ठ श्रम अधिकृत प्रेमप्रसाद सञ्जेलले दुई महिना भित्रमा न्यूजील्याण्ड पठाउने भन्दै सबै जनासँग २०७४ साल जेठ १८ गते दिवाकर तब्दारले दिनेश राईका नाममा पैसा पठाउन लगाएको खुलेको बताए ।
सबै युवालाई मासिक एक हजार दुई सय ५० डलर तलव पाउने गरी क्यासिनोको सेक्युरिटी गार्डमा लगाईदिने प्रलोभन देखाएर ठगी गरको सञ्जेलको भनाइ छ । श्रम कार्यालयमा उजुरी गरेको
थाहा पाएपछि तब्दार सम्पर्कविहीन बनेका छन् ।
कुनै कोही व्यक्तिलाई विदेश पठाउन आधिकारिक मेनपावर दर्ता गरेर इजाजत लिनु पर्नेमा अनुसन्धान गर्दा तब्दारको मेनपावर नरहेको पाइएका कारण वैदेशिक रोजगार ऐन आकर्षित हुने श्रम अधिकृत सञ्जेलको भनाइ छ । वैदेशिक रोजगार ऐन २०६४ को दफा १० ले कसैले पनि मेनपावरको इजाजत नलिइकन कसैलाई विदेश पठाउने वा सो सँग सम्बन्धित काम गर्न रोक लगाएको छ । यदि गरेमा निजलाई सोही ऐनको दफा ३ देखि ५ लाख रुपैयाँसम्म जरिवाना र ३ वर्षदेखि ७ वर्षसम्म कैद वा दुवै सजाय हुने कानुनी व्यवस्था छ ।