प्रदेश १ को राजधानी विराटनगर सामान्य वर्षामै डुब्यो, सडकहरू खनेर छाड्दा समस्या

<span class='c1'>प्रदेश १ को राजधानी विराटनगर   सामान्य</span> <span class='c2'>वर्षामै डुब्यो, सडकहरू खनेर छाड्दा  समस्या</span>

विराटनगर, २६ असार । प्रदेश १ को राजधानी विराटनगर क्षेत्र सामान्य वर्षामै डुब्न थालेको छ। निकास नराखी विराटनगरका बजार क्षेत्रका कच्ची सडक र ढल निर्माण सुरु गर्दा सामान्य वर्षामै डुवानमा परेको हो। मंगलबार रातिदेखिको वर्षाले बुधबार विराटनगर क्षेत्र जलमग्न भएको थियो।

ढलको पाइप बिच्छयाउन खनिएको सडक नपुर्दा र पाइप नबिच्छ्याउँदा मुख्य राजमार्गमा ढल बगेको थियो। मुख्य सडकहरू खनेर छाड्दा सामान्य वर्षामै डुवान समस्या भोग्नुपरेको स्थानीयले गुनासो गरे। ‘निकास बिनाको विकास छ। कतै ढल र पानी निकास हुने ठाउँ बनाइएको छैन। सामान्य वर्षामै छतमा चढ्नुपर्छ’, विराटनगर–१४ की स्थानीय रुपा थापाले गुनासो गरिन्।

एसियाली विकास बैंकको ऋण सहयोगमा क्षेत्रीय सहरी विकास परियोजनाअन्तरर्गत विराटनगर महानगरपालिका भित्रका सडक कालोपत्रे गर्ने काम जारी छ। महानगर भित्र ७४ किलोमिटर सडकमा निर्माण र कालो पत्रेको काम भइरहेको छ। २ अर्ब ६३ करोड रुपैयाँ लागतमा सम्पन्न गर्ने लक्ष्यका साथ काम सुरु गरे पनि यात्रुको चाप बढी हुने सडकको वैकल्पिक बाटो समेत खनिएकाले सास्ती बेर्हनु परेको स्थानीय बताउँछन्।

चिनियाँ कम्पनी झोङ ­­झ्याङले ठेक्का लिएर विराटनगरको आशिष निर्माण सेवामार्फत सडक निर्माण काम गरिरहेको छ। यातायात सञ्चालनका लागि बाइपास सडक नछाडी ढलको पाइप बिच्छयाउन अन्दाधुन्द सडक खनिएपछि बजार क्षेत्र जलमग्न बनेको विराटनगर बसपार्क छेउका स्थानीय मुकेश लिम्बुले बताए।

विराटनगर महानगरपालिकाले मुख्य बजार, रंगशाला आसपास र भित्री सडक खनेको छ। विकल्प बिना सडक खनेका कारण सर्वसाधरणले सास्ती भोग्नु परेको अर्का स्थानीय रमेश कटुवालले बताए। सडक डुब्दा १० मिनेटको बाटो तय गर्न १ घण्टा लागेको थियो।

महानगरपालिकाले तीनपैनी चोकदेखि दक्षिण मेनरोड, सिडियो कार्यालयदेखि अस्पताल चोकसम्मको सडक र अन्य भित्री सडक खनेका कारण पानी जम्ने गरेको छ। कालोपत्रे भत्किएर बनेका ठूला खाल्डोमा पानी जम्दा सवारी चालक र पैदलयात्री समस्यामा छन्। सडकका ठूला खाल्डामा पानी जम्दा मोटरसाइकल, कारलगायत साना सवारी साधन गुडाउनसमेत समस्या भएको विराटनगर–११ की माया खड्काले बताइन्। विराटनगर क्षेत्रका सिंघिया खोला, केसेलिया र नहरको जलस्तर पनि बढेको छ।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले भने डुबान भएपछि नगरबासीसँग फेसबुकमार्फत माफी मागेका छन्। ‘विराटनगर निर्माणको अवस्थामा भएको हुनाले, केही असहजता र अप्ठ्यारो स्थिति छ। म सम्पूर्ण नगरवासीसँग क्षमा माग्न चाहान्छु’, उनले लेखेका छन्, ‘तपाईंहरू सबैको सहयोगले यो दुःखको अवस्था लामो समय रहने छैन।’

बाढीका कारण ब्लक भएका नाला खुलाउन महानगर प्रमुख पराजुलीले आफैं उपस्थित भइ डोजर चालकलाई निर्देशन दिएका थिए। आजको अन्नपुर्ण पोष्टमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्