युवतीहरूका अर्धनग्न पोजका फोटा रहर कि आवश्यकता ?

<span class='c1'>युवतीहरूका अर्धनग्न पोजका फोटा</span> <span class='c2'>रहर कि आवश्यकता ?</span>

 नरेन्द्रमान श्रेष्ठ

पछिल्लो समयमा पत्रपत्रिका, म्यागेजिन र सामाजिक सञ्जालहरूमा खासगरी युवतीहरूका अर्धनग्न पोजका फोटा छ्यापछ्याप्ती हेर्न सकिन्छ । कलाकार, मोडेल, गायिका, डान्सरदेखि बैङ्करहरूका समेत अर्धनग्न फोटा विभिन्न मिडियामा प्रकाशित भइरहेका छन् । खासगरी नेपालको मनोरञ्जनको क्षेत्रमा अश्लीलता बढ्दै गइरहेको छ भन्दा फरक पर्दैन । चाहे चलचित्र क्षेत्रमा होस्, चाहे मोडलिङको क्षेत्रमा होस, चाहे ¥याम्प मोडलिङ क्षेत्रमा होस अथवा म्युजिक भिडियोको क्षेत्रमा होस् अश्लीलता बढिरेहको छ भन्नेहरू थुप्रै भेटिन्छन् । चलचित्रमा प्रवेश गर्न चाहनेले अडिसन दिनका लागि होस् वा चलचित्रमा टिकिरहनका लागि होस्, अर्धनग्न भएर फोटोसुट प्रस्तुत गर्नेहरूमा धेरैजसो नवप्रवेशी कलाकार हुने गरेका छन् । मोडलिङमा रहिरहनका लागि अर्धनग्न भई फोटो सेसन गर्नेहरूको सङ्ख्या झनै बढिरहेको छ ।

अर्धनग्न फोटाहरू विभिन्न मिडियामा आउँदा यसले विभिन्न नकारात्मक टीकाटिप्पणी र आलोचना हुने गरेका छन् । एक जना बैङ्करको बिकनीमा रहेर खिचेको फोटो मिडियामा आउँदा कतिपयले यसलाई ‘बूढी घोडीको लाल लगाम’ भनेर व्यङ्ग्य गरेका थिए । विश्वमा सञ्चार क्षेत्रको व्यापक विकास र विस्तारले बिस्तारै हामीलाई विश्वको नजिक पु¥याइदिएको छ । भन्नेहरूले त सञ्चारको दु्रत विकासले विश्वलाई नै एउटा गाउँजस्तो बनाएको भनेर पनि भन्ने गरेका छन् । यसले गर्दा पनि विश्वलाई हामीले नजिकबाट नियाल्ने अवसर पाएका छौँ । त्यसो त नेपालमा विदेशीको ठूलो प्रभाव पर्ने गरेको छ । विदेशीको नक्कल गर्नेमा हामी निकै अगाडि छौँ । कतिपय युवा–युवतीले अर्धनग्न फोटो सेसन गर्ने र चलचित्रमा अश्लील दृश्यहरू दिने गरेकोलाई विदेशीको प्रभाव भन्ने गरिन्छ । कतिपय नेपाली चलचित्रका नायिकाहरू, मोडेलहरू र गायिकाहरू भारतीय चलचित्रमा ‘हट’ मानिएका नायिकाहरूकै देखासिकीमा प्रस्तुत हुने गरेका छन् । यिनीहरूकै देखासिकी गरेर पछिल्लो समयमा कतिपयले उनीहरूकै जस्तो फोटो सेसन गर्ने गरेका छन् । त्यसो त चलचित्रमा अर्धनग्न भई अश्लील दृश्य दिने कतिपय नायिका चलचित्र क्षेत्रबाटै विस्थापित भइसकेका पनि छन् । कथाले मागेको भन्दै कलाकारलाई अर्धनग्न बनाई अश्लील दृश्य दिन बाध्य पारेर बनाइएका चलचित्रहरू पनि असफल भएका उदाहरण छन् । यस्ता चलचित्र निर्माण गर्ने निर्माताले आफ्नो लगानीसमेत उठाउन नसकेर निर्माण क्षेत्रबाटै पलायन भएका छन् ।

त्यसो त कतिपय कलाकार, मोडेल र गायिकाहरूको चर्चित हुने रहर तथा सोख पनि हुन्छ । पोर्न चलचित्रहरूमा खेल्ने इच्छा जाहेर गरेकी चलचित्र जिस्मकी नायिका अर्चना पनेरु आफ्नो रहर र सोखका लागि यस्तो गरेको स्वीकार्छिन् । नायिका पनेरुको अर्धनग्न फोटा र भिडियोहरू सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती भएका छन् । त्यसैगरी एकताका चलचित्र मिस नेपालकी नायिका निर्मात्री शुभेच्छा थापाले पनि आफ्नो रहरले अर्धनग्न फोटो सेसन गरेकी थिइन् । नायिका शुभेच्छा थापाले आफ्ना नग्न वक्षलाई खादाले छोपेको फोटा सञ्चार माध्यममा प्रकाशित गरेपछि त्यसले ठूलो विवाद उठाएको थियो । नायिका थापाको आलोचनासमेत भएको थियो र उनले माफीसमेत माग्नुपरेको थियो । चलचित्र कलाकार सङ्घले छ महिनासम्म सङ्घबाट निलम्बनसमेत गरेको थियो । यस्ता दृश्य घर–परिवारमा सगैँ बसेर हेर्न लाजमर्दो हुने त छँदैछ, किशोर पुस्तालाई नकारात्मक प्रभाव पार्नसक्ने भनेर अभिभावकहरू चिन्तित भएको पाइएको छ ।
पछिल्लो समयमा मात्रै नभई विगतमा पनि कतिपय नायिकाले अर्धनग्न भई फोटो सेसन गर्ने गरेका थिए । एक समयका चर्चित र हट नायिका तुलसा सिलवालले बलिउड नायिका ममता कुलकर्णीको नक्कल गरी आफ्नो नग्न वक्षलाई हातले छोपेर फोटो सेसन गराई म्यागेजिनको कभर पेजमा छापेको कारणले चलचित्रकर्मीबीच एक किसिमको तरङ्ग नै आएको थियो । उक्त फोटो छाप्ने पत्रिका र कलाकारबीच भनाभनको जुहारी नै चलेको थियो । नायिका सिलवालको निक्कै आलोचना भएको थियो भने कलाकारहरू र पत्रिकाबीच पनि ठूलै विवाद भएको थियो । सायद यही कारण हो कि नायिका सिलवाल चलचित्र क्षेत्रबाटै विस्थापित हुनुपरेको । नायिका श्रीशा कार्कीको नग्न फोटो एउटा साप्ताहिक पत्रिकामा छापेको कारणले नायिका कार्कीले आत्महत्या गरेकी हुन् भनेर त्यसबेला निक्कै विवाद सिर्जना भएको थियो । नग्न फोटो पत्रिकामा छापेको कारणले त्यस पत्रिकाका सम्पादकले जेलसमेत जानुपरेको थियो ।

पछिल्लो समयमा अर्धनग्न फोटो सेसन गरी मिडियामा प्रकाशित गर्ने, चलचित्रमा अश्लील दृश्यहरू दिने, आफूलाई ‘हट नायिका’ भन्न रुचाउने केही नायिकाहरू चलचित्र क्षेत्रबाट नै हराउने गरेका छन् । कलाकर्मी तथा सेलिब्रेटीहरू भनेका समाजका अगुवा हुन् । समाजलाई स्वच्छ र विकृति–विसङ्गतिमुक्त बनाउने जिम्मेवारी हाम्रो पनि हो भन्ने भावना राखेर पाच्य हुनेसम्मका दृश्य मात्रै पस्किँदा झनै प्रभावकारी हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्