विराटनगर, ११ कात्तिक । दिपावलीको साँझ मोरङका बिभिन्न स्थानमा भएको आगलागीमा एक जनाको ज्यान गएको छ । मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नम्बर ५ कोठेबारीका युवराज गिरीको घरमा गएराती आगलागी हुँदा उनका छोराको ज्यान गएको हो । दिपावली गर्ने क्रममा आगलागी हुँदा भएको आगलागीमा घर भित्र सुतिरहेको अबस्थामा युवराजका छोरा बर्ष ४ का युसन गिरीको ज्यान गएको हो । आगलागीबाट ६० हजार नगद, सुन, चाँदी, लत्ता कपडा समेत जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
यता बिराटनगरमा आगलागी हुँदा गाडी जलेको छ । गएराती दिपावली गर्ने क्रममा विराटनगरमा गाडी जलेको हो । विराटनगरको ब्यस्त बजार विराटनगर १० मा रहेको नेशनल एकेडेमी कलेज नजिकै रोकेर राखिएको को १ च ९२६२ नम्बरको गाडीमा आगो लागेको हो । तिहारको बेला मैनबत्ती बाल्ने क्रममा आगलागी भएको हुनसक्ने प्रहरीले जनाएको छ । आगलागीबाट गाडी पुर्ण रुपमा जलेर नष्ट भएको छ ।
त्यस्तै मोरङको केरावारी गाउँपालिका वडा नम्बर ८ आमजुङ्गेमा दिपावली गर्ने क्रममा आगलागी भएको हो । स्थानीय उमेश वस्नेतको घरमा राती ९ बजे मैनबतीबाट आगलागी भएको छ। आगलागीबाट २१ लाख बराबरको क्षती भएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिनुभयो ।