विराटनग, २७कात्तिक । निलम्बन प्रहरी जवानलाई अवैध लागूऔषधसहित मोरङ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण विशेष ब्यूरो टोली विराटनगरले धरान ६ का २८ बर्षीय सन्तोष तामाङलाई मंगलबार दिउँसो अवैध लागूऔषध सहित पक्राउ गरेको हो ।
पक्राउ परेका तामाङ्ग निलम्बन प्रहरी जवान हुन् । उनको दरबन्दी जिल्ला प्रहरी कार्यालय धनकुटा रहेको प्रहरीले जनाएको छ । लागूऔषध ब्यूरो टोलीले विशेष सुराकीको आधारमा भारतको जोगवनीमा लागूऔषध सेवन गरि १५ ट्याब्लेट नाईट्रोसन लागूऔषध ल्याउने क्रममा पक्राउ गरिएको हो । लागुऔषधसहित तामाङ्गलाई विराटनगर भन्सार कार्यालयको १ नम्बर डाटबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएपी राजकुमार खिउँजुले जानकारी दिए ।
को १३ प ५०६४ नम्बरको मोटरसाईकलमा तामाङ्गले लगाएको हेलमेट भित्र लुकाएर लागूऔषध ल्याउँदा प्रहरीले पक्राउ गरेको थियो । लागूऔषध सेवन गरेर डियुटिमा खटिएको चाल पाएपछि तामाङ्ग निलम्बनमा परेका थिए । कुलतमा फसेका तामाङ्ग निलम्बनमा परेपछि अवैध लागूऔषधको ओसारपसारमा लागेको बुझिएको छ ।