मोरङ, १६ साउन । सानैमा आगोले पोलेर दाहिने खुट्टा गुमाएका विमल बुढाथोकीले कार्यक्रममा उपस्थित पूर्व प्रधानमन्त्रि एवं एमाले नेता माधवकुमार नेपाल सहित सबैलाई चकित बनाए ।
शारीरिक अपाङ्गता भएका र त्यसमा पनि एउटा खुट्टै नभएकाले कसरी साइकल चलाउलान् ? तर विमलले साइकल हाँकेर देखाइदिए । उनलाई कृतिम खुट्टाकै साहाराले भएपनि साइकल कुदाउन सकिएला भन्ने विश्वासै थिएन । तर गोरधनदास कमलावती परोपकारी सेवा प्रतिष्ठान विराटनगरले उनीमा आत्मविश्वास जगाइदिएको छ । आइतवार मोरङको टंकीमा गोरधनदास कमलावती परोपकारी सेवा प्रतिष्ठान र महावीर सेवा सदन कोलकाता भारतले संयुक्त रुपमा आयोजना गरेको दश दिने निःशुल्क बिकलाङ्ग शिविर समापनका अवसरमा सुनसरीको दुहबीका २२ वर्षीय विमलले हर्षित हुँदै भने, ‘अलि दिनमा झन् मजाले साइकल चलाउनसक्छु होला ।’
सो शिविर समापन कार्यक्रममा नेपाल होटल मजदुर संघका केन्द्रीय सदस्य अर्जुन राईले झन् अनौठो काम देखाए । भर्खरै कृत्रिम खुट्टा लगाएका उनी अढाई फिट अग्लो मञ्चबाट हामफाले र सकुशल पुनः मञ्चमै गए । कपिलबस्तुका ६८ वर्षीय मोतीलाल लोक्चन पनि दङ्ग देखिन्थे । बस दुर्घटनामा परेर उनको गोडा काट्नुपरेको थियो । ‘अब त गाउँमै केही गरेर खान्छु भत्रे हिम्मत बढेको छ’– कृत्रिम खुट्टा पाएपछि उनले भने ‘अहिलेसम्म अरुकै भरोसामा बाँच्नु परेको थियो अब त हलो जोतेर भएपनि गुजारा चलाउन सक्छु ।’
‘तपाईंलाई कस्तो अनुभव भएको छ,’ प्रमुख अतिथि पूर्व प्रधानमन्त्री नेपालले प्रश्न गरेपछि मीना नेपालीको एक्कासि भक्कानो फुट्ता मञ्चका गण्यमान्य मात्र होइन कार्यक्रममा उपस्थित झन्डै सात सय व्यक्ति पनि भावुक भएका थिए । ‘कृतिम खुट्टा पाएपछि मलाई नयाँ जीवन पाएजस्तो भयो’–नेपालीले भनिन् । उनले तीन वर्षकी छँदा बस दुर्घटनामा एउटा खुट्टा गुमाएकी थिइन् । सुनसरी इटहरीकी ३५ वर्षीया नेपाली सिलाइ–कटाइको काम गरेर गुजारा चलाउँछिन् ।
त्यस्तै उदयपुर गाइघाटका धनराज राई त कम्मरभन्दा तलको भाग नचल्ने भएर ओछ्यानमै थलिएका थिए । कृतिम साधनको सहायताले अरुको सहारामा उनी पनि उठ्न सक्ने भएका छन् । ‘मलाई यहाँका डाक्डरसा’बहरुले बैशाखी नै लगाउन पर्छ भन्दै हुनुहुन्थ्यो तर मलाई बैशाखी विनै हिड्न सक्छु भन्ने लागेको छ’– उनले भने ‘कोशिस गर्दै गएँ भने अरुको सहारा बिनै हिड्डुल गर्न सक्ने आँट ममा जागेको छ ।’
सात दिनसम्म चलेको शिविरमा ४० जनालाई ट्राइसाइकल, ४५ लाई ह्विल चियर, १५ लाई विभित्र प्रकारका बैशाखी वितरण गरिएको थियो । त्यस्तै पोलियो जुत्ता ३७ जनालाई, कृत्रिम खुट्टा ५३ जनालाई, कृत्रिम हात २० जनालाई र कृत्रिम खुट्टा क्यालिपर ६२ जनालाई वितरण गरिएको थियो ।
जन्मजात बायाँ हात गुमाएकी झापा दमक की १९ वर्षिया गेनिसा संग्रौला पनि शिविरमा कृतिम हात पाएपछि दंग छिन् । कक्षा १२ मा अध्ययनरत संग्रौलाले खुशी हुँदै भनिन् ‘सायकल ठूलो रहर थियो अब साइकल कुदाउने हिम्मत बढेको छ ।’
उनले सभासद समेत रहेका एमाले नेता नेपाललाई आगामी संविधानमा शारीरिक अपाङ्गता भएकाहरूका लागि अधिकार सुनिश्चित गर्न आग्रह समेत गरिन् । उनले यस्तो आग्रह गर्दा सबैले ताली बजाएर स्वागत गरेका थिए । ‘हाम्रा अधिकारहरुलाई अब स्पष्ट शब्दमा लेखिनु पर्छ र कार्यान्वयनको पनि त्यत्तिकै खाँचो छ’–उनले भनिन्् ।
कार्यक्रममा पूर्व प्रधानमन्त्री नेपालले संसारका सबै धर्म र संस्कृतिले मानव जातिको सेवा गर्न अभिप्रेरित गरेको उल्लेख गर्दै वास्वविक धर्म भनेकै सेवा र सहयोग भएको विचार व्यक्त गरे । ‘आजका दिनमा धर्मलाई कर्तव्यसित जोडेर हेर्नुपर्छ’– नेपालले भने ‘हामी वरिपरि रहेका दीन, दुःखी, असहाय, अपाङ्ग र अशिक्षितहरूलाई सहयोग पुर्यायौं भने मात्र उनीहरूभित्रको ईश्वर खुशी हुन्छ । यो नै सबैभन्दा राम्रो उपासना हो ।’
नेपालमा अरूलाई दुःख दिने र अरूका पीडामा रमाउने परपीडक प्रवृत्ति बढ्दै गइरहेको चर्चा गर्दै उनले सेवा र सहयोगका राम्रा उदाहरणबाट सबैले शिक्षा लिनुपर्ने आग्रह गरे । नेपालले शारीरिक अपाङ्गता भएकाहरूले आत्मविश्वासका साथ अघि बढ्नुपर्ने बताए ।
समापन समारोहमा गोरधनदास कमलावती परोपकारी प्रतिष्ठानका अध्यक्ष जगदीसप्रसाद अग्रवालले हालसम्म गरेका सेवामूलक कार्यको जानकारी दिए । उनका अनुसार प्रतिष्ठानले शुद्ध पिउने पानी, बहिरा छात्रछात्राहरुका लागि ४८ शय्याको भवन, धरानमा अग्रसेन भवनको निर्माण, मजदुरहरुलाई रिक्सा प्रदान गर्नुका साथै बेला बेलामा दैवीप्रकोप पीडितहरुलाई राहत वितरण गर्दै आएको छ ।