रथयात्राको तयारि पुरा , डिस्क ब्रेक सहितको रथ तयार

रथयात्राको तयारि पुरा , डिस्क ब्रेक सहितको रथ तयार

विराटनगर २ भदौ । यहि भदौ ५ गते राधाकृष्ण मन्दिरबाट निकालिने श्री राधाकृष्ण रथ यात्राको रथ निर्माण कार्य पुरा भएको छ । यस अघिको रथलाई त्यसको मौलीक आकार प्रकार तथा आवरणलाई प्रभाव नपार्ने गरी थप परिष्कृत गरी निर्माण गरीएको यस वर्षको रथ ८ जना कारीगढ र एक जना इन्जिनियरको समुहले झण्डै ३ महिना लगाएर तयार गरेको हो ।
‘यस पटकको रथ परिमार्जित गरी नयाँ प्रविधिको प्रयोग गरि तयार गरिएको छ’ रथ निर्माण टोलीका प्रमुख तथा गणपति इन्जिनियरीङ्ग वर्कसपका निर्देशक सागर श्रेष्ठले बताए । उनका अनुसार यस पटकको रथमा हाईड्रोलिक डिस्क ब्रेक प्रयोग गरिएकोले रथ रोक्नमा सहज हुनुका साथै रथ यात्रा थप सुरक्षित पनि हुनेछ । उनले भने ‘पहिलेको रथ भित्र भित्रै जिर्ण भईसकेकाले यसको भित्री भाग पुनः डिजाईन गरी नयाँ तरिकाले निर्माण गरेका छौ’ । ‘यसको भित्रि अंश पुरै फलामको बनाईएको छ’ श्रेष्ठले बताए । पहिलेको भन्दा यसपटक रथ १८ फिट  ४ इन्च, चौडाई ११ फिट २ इन्च र लम्बाई १४ फिटको रहेको छ । नयाँ डिजाइनका कारण रथमा रहने पुजारीहरुका कारण भक्तजनलाई दर्शनमा कठिनाई नपर्ने श्रेष्ठले थपे ।
यस पटकको रथ प्राविधिक पक्ष सबल भएको दाबी गर्दै इन्जिनियर श्रेष्ठले उक्त रथ अबको दशौ वर्ष सम्म पनि उस्तै रहने दाबी गरे । नयाँ रथमा ब्रेक, चक्का, हब, जुवासमेत नयाँ लगाईएको छ । पहिले रथको पछि जेनेरेटर छुट्टै गाडिमा राख्नु पर्ने समस्यालाई समेत ध्यानमा दिएर यसपटक रथ मै कम आवाज निकाल्ने जेनेरेटर राखिएको छ ।
रथ निर्माणसँगसँगै यात्राको अन्य तयारीहरु पनि पुरा भई सकेको रथ यात्रा समारोह समितिका अध्यक्ष सुर्य बहादुर बस्नेतले जानकारी गराए । रथलाई विभिन्न ४३ स्थानमा दर्शलका लागि रोकिने उनले बताए ।  विभिन्न २२ उपसमिती बनाई सुरु गरिएको रथ यात्राको आन्तरीक तयारी पुर्ण भएकोले यात्रालाई अझ सहज बनाउन सम्पुर्ण कार्य समिती लागेको उनले बताए । उनका अनुसार सबै निकायबाट सहयोग भएकाले गर्दा समयमै तयारी समाप्त भएको हो । साथै उनले रथ यात्राको दिन सार्वजनिक विदा दिन स्थानिय प्रशासनलाई अनुरोध गरेको त्याहाँबाट पनि सकारात्मकता पाए पनि त्यो कार्यान्वयन नभएकोमा गुनासो व्यक्त गरे ।
करिब २२ लाख रुपैयाको खर्चमा गरिन लागिएको रथयात्रामा समितिले जम्मा १ लाख पचास हजार मात्र खर्च गर्नु परेको रथ यात्राको आर्थिक खर्च संयोजक दामोदर प्रसाद घिमिरेले बताए । उनले आन्तरिक खर्च बाहेक सम्पुर्ण खर्च भक्तजनहरुले नै स्वतस्फुर्तरुपमा गरेको बताए । रथ यात्राको सुरक्षार्थ ६७७ जना नेपाल प्रहरी खटाइने मोरङ्ग प्रहरीका नायब उपरिक्षक दिपक थापाले बताए । यात्रालाई सहज बनाउनका लागी ४० जना पुरुष र ६० जना महिला स्वयम् सेविकाहरु तयार रहेको महिला स्वयम् सेविका उपसमिती संयोजक सुनिता घिमिरेले जानकारी गराईन् ।

विसं १९८८ सालदेखि खटयात्राको रुपमा सुरु भएको श्री राधाकृष्ण रथ यात्रा भारतको जगन्नाथ पुरी रथ यात्रा पछिको सबै भन्दा ठुलो हातले तानिने रथ यात्रा मानिन्छ । सुरुका दिनहरुमा खाटमा राधाकृष्णको प्रतिमा स्थापित गरी सहर घुमाई सुरु भएको रथ यात्राले हाल विशाल रुप लिएको प्रथम रथ यात्रा समितीका एकमात्र जिवित सदस्य पन्नालाल पटवारीले बताए । उनको अनुसार त्यति बेला खाटलाई काँधमा राखेर ठुलाबडाको घरघर घुमाउने चलन थियो । उनी हाल १०६ वर्षका भएकाछन् ।  ‘पहिले सानो झुप्रोमा मन्दिर थियो, खटमा राखेर घुमाइने यात्रा कहिलेकाँही पानी पर्दा पानी ट्याङ्कि बाटै पनि फर्काएर ल्याइन्थ्यो’ विसं २००० सालदेखि रथयात्रामा सहभागी हुदै आएकि प्रभा पौडेलले त्यतिवेलाको कुरा सम्झदै सुनाईन । उनले भनिन् ‘उहिले चालिस पचास जनामात्रको सहभागीतामा रथ यात्रा गरिन्थ्यो । ’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्