छठ पर्वको रौनकता बढ्यो

छठ पर्वको रौनकता बढ्यो

मोरङमा विगत वर्षहरूमा भन्दा छठ पर्वको रौनकता बढेको छ । मोरङका विराटनगरलगायत ग्रामीण क्षेत्रका नदी, खोला, पोखरी, तलाउ र नहरहरूमा भक्तजनहरूले मंगलबार अस्ताउँदो सूर्यलाई जल र फलफूल चढाएका छन् । पूजाका दिन मोरङको सिंघिया, केसलिया, डाँसखोला, बूढीखोला, सीताखोला, बक्राहाखोला, पुवाखोलालगायत नदी तथा खोला र पोखरी एवं आसपासका नहरहरूमा सूर्यको उपासना गरेर अस्ताउँदो सूर्यलाई अर्घ दिएर मनाएका छन् ।
विराटनगरको गुद्री बजारदेखि सिंघिया खोलासम्मको साजसज्जा, गेट र शृङ्गारका लागि दस लाख रूपैयाँ खर्च भएको पूजा व्यवस्थापन समितिले जनाएको छ । पूजा व्यवस्थापन समितिका महासचिव दिनेश साहले बजारदेखि विराटनगरको हाटखोला सिंघिया घाटसम्म २२ वटा गेटहरू निर्माण गरी धुमधामसँग मनाइएको बताए । छठ पूजा समारोह समिति विराटनगर–१५ पिचराका अध्यक्ष संजय ठाकुरका अनुसार विगत वर्षहरूमा भन्दा छठ पूजामा दोब्बर भक्तजनको उपस्थिति रहेको थियो । यस वर्षको छठ पर्व विगतमा भन्दा भव्य र व्यवस्थित भएको अध्यक्ष ठाकुरले दाबी गरे ।
त्यस्तै पूजास्थल वरिपरि कडा सुरक्षा व्यवस्था प्रबन्ध मिलाएकाले जिल्लामा कुनै अप्रिय घटना नभएको मोरङका प्रहरी उपरीक्षक प्रद्युम्न कार्कीले बताए । उनका अनुसार पूजास्थल वरपर तीन सयको हाराहारीमा प्रहरी परिचालन गरिएको थियो । विशेष सुरक्षा योजनाअन्तर्गत मोबाइल गस्ती, पैदल गस्ती र सिभिलमा समेत प्रहरीहरू परिचालन गरेको थियो । सिंघिया खोलामा छठ पूजा गर्न लागि नेपाल तथा छिमेकी देश भारतबाट समेत भक्तजन र व्रतालुहरू आएका थिए ।
खोला किनारमा बिसौं हजार भक्तजनको घुइँचो लागेको थियो । विराटनगरको मुख्य बजारमा छठको सामग्री किनमेल गर्नेमा पहाडे र मधेसी दुवै समुदायको उत्तिकै उपस्थिति देखिन्थ्यो । व्रतालुहरूले बिहानैदेखि निरामिष र चोखोनितो अपनाएका छन् । यसपछि व्रतालुहरूले बुधबार उदाउँदो सूर्यलाई अर्घ नदिएसम्म उपवास बस्ने र केही नखाने परम्परा रहिआएको छ । कतिपय व्रतालुहरू अस्ताउँदो सूर्यलाई अर्घ दिएर जाग्रामसमेत बस्ने गरेका छन् । छठमा ठेकुवा, केरा, भुसवा, नरिबल, लड्डू, उखु, अदुवा, बेसार, मुला, भोगटे, सुठुनी, पञ्चफललगायतका प्रसादहरू चढाइएको छ । साथै यो पर्वमा विभिन्न किसिमका माटाका सामग्रीहरू पनि चढाइएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्