कम भए गरीबहरु : नेपालमा गरिबी दर घट्यो

कम भए गरीबहरु : नेपालमा गरिबी दर घट्यो

नेपालमा गरिबहरुको संख्या घटेको एक सर्वेक्षणले देखाएको छ । राष्ट्रिय योजना आयोग केन्द्रिय तथ्याङ्क विभागले २०६६÷६७मा गरेको नेपाल जीवनस्तर सर्वेक्षणको प्रतिवेदनले सो कुरा देखाएको हो । आइतबार विराटनगरमा केन्द्रीय तथ्याङ्क विभागले गरेको एक कार्यक्रममा सर्वेक्षणको प्रतिवेदन सार्वजनिक गर्दै तथ्याङ्क विभाग जिवनस्तर सर्वेक्षण शाखाका निर्देशक बुद्धिराज लामीछानेले नेपालमा गरीवीको स्तर ६ प्रतिशतले कमी आएको तथ्याङ्क सार्वजनिक गरेका हुन ।
उनले प्रतिवेदन सार्वजनिक गर्दै सन् २००३÷४ मा ३१ प्रतिशत नेपाली गरीवीको रेखामुनी रहेकोमा सन् २०१०÷११ मा गरेको सर्वेक्षणमा सो संख्या कम भई २५ दशमलव १६ प्रतिशतमा झरेको जानकारी दिएका थिए ।
सार्वजनिक प्रतिवेदन अनुसार नेपालमा सबैभन्दा बढि गरिबीदर हिमाली क्षेत्रमा रहेको छ । त्याँहा कुल जनसंख्याको ४२ दशमलव ३ प्रतिशत जनता गरिबिको रेखामुनि रहेका छन् । त्यस पछि तराइमा २३ प्रतिशत जनता गरिबिको रेखामुनि रहेका छन् ।
सर्वेक्षणमा गरिबीको मापन पारिवारिक उपभोग खर्चको आधारमा गरिएको निर्देशक लामिछानेले बताए ।
कार्यक्रममा नेपाल जिवनस्तर सर्वेक्षण शाखाका तथ्याङक अधिकृत केशवकुमार गौतमले शाखाबाट खटिएको १ सय जनाको २० वटा टोलीले देशका ५ सय वटा वडा र क्षेत्रमा पुगेर ५ हजार ९ सय ८८ घरपरिवारलाई प्रत्यक्ष अन्तरवार्ता र प्रश्नावली भर्न लगाई तथ्याङ्क तयार गरीएको जानकारी दिए । उनको अनुसार प्यानल स्याम्पल अन्तर्गत भने १०० गणना क्षेत्रका ११सय २८ घरपरिवारको विवरण संकलन गरिएको थियो ।
अधिकृत गौतमले तीनवटा विधि प्रयोग गरीएको सर्वेक्षण देशमा गरीबीको अवस्था पत्ता लगाउन र नेपाली समाजमा घरपरिवारको अवस्था परिवर्तनको मापन गर्नका लागि उपयोगि भएको जानकारी दिए । प्रतिवेदनले दोस्रो सर्भेक्षणमा ५ दशमलव ७ जना एक घर परिवारमा बस्ने गरेको पाइएपनि हाल एक परिवारमा ४ दशमलव ९ जना औसतरुपमा बस्ने गरेको देखाएको छ । तेस्रो सर्वेक्षणबाट पहिले भन्दा महिला घर मली भएको घर धुरीको संख्या दोब्बर बृद्धि भई २६ दशमलव ७ प्रतिशत पुगेको र भाडामा बस्नेको संख्या बृद्धि भएकोसमेत प्रतिवेदनमा उल्लेख छ । नेपालमा दिर्घ रोगीको संख्या बढेका र बसाईं सराइमा पनि बृद्धि भएको उल्लेख छ ।
सार्वजनिक गरिएको प्रतिवेदन अनुसार नेपालमा  २० प्रतिशत जनसंख्या घरमा नरहेका, ५३ प्रतिशत घरपरिवारका मानिस घरवाहिर रहेको जसमध्ये २८ प्रतिशत वैदेशिक रोजगारीमा रहेका छन् । जसबाट नेपालमा वार्षीक दुई खर्व ८ अर्ब रुपैंया विदेशवाट रेमिटान्स आउने गरेको र त्यसको ८९ प्रतिशत खर्च दैनिक उपभोग्य वस्तु खरिदमा हुने गरेको समेत तथ्याङ्क प्रस्तुत छ ।
सर्वेक्षणको तथ्याङ्क प्रतिवेदन सार्वजनिक गर्नका लागि आयोजित कार्यक्रममा प्रमुख अतिथि तथा मोरङका प्रमुख जिल्ला अधिकारी सुरेश अधिकारीले नेपालीहरुको जिवनस्तरमा सुधार हुदै गएको बताए । उनले भने ‘प्रतिवेदनमा सार्वजनिक गरिएको तथ्याङ्कले नीति निर्माण गर्न तथा योजना बनाउन सहयोग गर्नेछ ।’
कार्यक्रममा सहभागीहरुले सार्वजनिक गरिएको तथ्याङ्कले योजना तयार गर्दा प्रभावकारी हुने र कुन क्षेत्रमा फोकस गर्ने हो त्यसको पहिचान गरी कार्यक्रम लगेर त्यसको विकास गर्न सकिने उल्लेख गर्दै आगामी दिनहरुमा पनि यस्तै प्रकारका योजनामुखि सर्वेक्षणहरु गरिनु पर्नेमा जोड दिएका थिए ।
जिल्ला विकास समिति मोरङको सभाहलमा सम्पन्न कार्यक्रममा सभापति तथा मोरङका स्थानीय विकास अधिकारी बाबुराम गौतमलगायत विराटनगरमा विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका अधिकृत, प्रतिनिधी, विकास निर्माण संग संम्बन्धीत कार्यालयका प्रमुख तथा अधिकृतहरु, पत्रकारहरु सहभागी भएका थिए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्