विराटनगरमा आगलागी भए सखापै हुने डर

विराटनगरमा आगलागी भए सखापै हुने डर

आवश्यकता अनुरुप दमकलको व्यवस्था नभएका कारण विराटनगर नगर क्षेत्रमा आगलागी भए नियन्त्रण गर्न असम्भव रहेको देखिएको छ । विराटनगर उपमहानगर पालिकाका ४ वटा दमकल मध्ये तिन वटा दमकल काम नलाग्ने भए पछि यस्तो अवस्था आएको हो ।
विराटनगर वारुण यन्त्र कार्यालयका कर्मचारीहरुको अनुसार
विराटनगरमा हाल एउटा मात्र दमकल पुर्णरुपमा सञ्चालन योग्य रहेको छ । बारुण यन्त्र कार्यालयका थप दुई वटा दमकल काम नलाग्ने अवस्थाको भए पनि बाध्यताका कारण समय समयमा बनाउदै चलाइरहेको उनीहरुले बताए ।
‘आगलागी हुने समयमा चारवटा दमकलले पनि आगो नियन्त्रण गर्न भ्याइदैन’ बारुण यन्त्र कार्यालयका फायर म्यान चन्द्र रोक्काले भने ‘हालसम्म जेहेन तेहेन चलिरहेको छ, तर अब भने नयाँ दमकल खरिद नगरी नहुने अवस्था आइसकेको छ’ । उनको अनुसार विराटनगरको दमकलले आवश्यक पर्दा इटहरी, रंगेली, धरान, इनरुवा, भद्रपुर र कहिलेकाँहि भारतको फारबिसगन्जसम्म पनि पुग्नु पर्ने हुन्छ । ‘लामो दुरीसम्म जानु पर्ने अवस्थामा बिग्रीएका दमकलको भर पर्न सकिदैन’ रोक्काले भने ।
वारुण यन्त्र कार्यालयमा बिग्रिएर काम नलाग्ने दमकलहरु थन्क्याएर राखिएको छ । दमकलहरुको लिलामी प्रक्रिया चलिरहेको बारे बताउदै विराटनगर उपमहानगरपालिकाका सामाजिक विकास महाशाखा प्रमुख अर्जुन थपलियाले सुनाए ‘थन्किएका दमकलको लिलामी प्रक्रिया चलिरहेको छ, त्यसबापत आएको रकम पनि दमकल व्यवस्थापन मै खर्च गरिनेछ’ । थपलियाले नयाँ दमकल थप गर्ने प्रक्रिया चलिरहेको दाबी गरे । उनले भने ‘चार पाँच महिना अघि भारतीय दुतावाससँग २ वटा दमकलको सहयोग माग गरेका छौ ।’, ‘दुतावासले गरेको अध्ययन पछि दमकल उपलब्ध गराउने आश्वासन दिएको छ । चाँडैनै नयाँ दमकल थपिने आशा गर्न सकिन्छ’ ।
दमकल समस्यासँगै विराटनगर क्षेत्रका दमकलहरुले पानी तान्न प्रयोग गर्ने बोर्डिङ गरिएका बोइङहरु समेत काम नलाग्ने अवस्थामा पुगेका छन् । विराटनगरको विभिन्न चौकहरुमा फलामको बोइङ उठेको अहिले पनि देख्न सकिने भए पनि तिनिहरुको कुनै प्रयोग भएको छैन । बारुण यन्त्रमा विगत ७ वर्षदेखि कार्यरत दमकल चालक सर्मालाल तामाङले आफुले हालसम्म उक्त बोरिङको प्रयोग भएको नदेखेको बताए ।  ‘करिब ४ वर्ष अघि विराटनगर मेनरोड स्थित गोल्छा हाउसमा भएको आगलागीको समयमा त्याहाँको बोइङबाट पानी तान्न खोज्दा पानी आएको थिएन’ तामाङले बिगत सम्झदै भने ‘त्याहाँको बोइङबाट पानी तान्न सकिएको भए क्षति केहि हदसम्म न्युनीकरण गर्न सकिने थियो ।’ हाल विराटनगरमा अस्तित्वमा रहेका बोइङहरु कुनै काम लाग्ने स्थितिमा छैनन् । प्राय सबैमा ढुङ्गालगायतका फोहोरहरु जम्मा भएका छन् । ‘दमकमा राखिएको बोइङहरु अझैसम्म काम गरिरहेका छन् ’ एक महिना अघि झापा जिल्लाको शहर दमकबाट विराटनगर बारुण यन्त्र कार्यालयमा सरुवा भएका हल्दार गोकुल बहादुर अधिकारीले सुनाए ‘त्याहाँ दमकलहरुमा पानी त्यसैको प्रयोग गरि हालिने गरिन्थ्यो’ । उनले यहाँ पनि त्यस्तो व्यवस्था गर्न सके आगलागी नियन्त्रणमा सहज हुने बताए । हाल दमकलमा आवश्यक पर्ने पानी पुष्पलाल चौकस्थित पानी ट्याङ्की, सिघिंया खोला, केशलिया खोला तथा स्थानीय पोखरीहरुबाट पुर्ति गरिरहेको चालक तामाङले जानकारी दिए । ‘आगलागी भएको क्षेत्र नजिक रहेको पानीको स्रोत प्रयोग गरिरहेका छौ’ तामाङले भने ‘विराटनगर क्षेत्रमा आगलागी हुदा बोइङको प्रयोग गरेर पानी तान्न सके सहज हुने थियो ’ ।
त्यसै गरि विराटनगर बारुण यन्त्र कार्यालयमा कार्यरत कर्मचारीहरुले आफुहरुले पर्याप्त मात्रामा तालिम नपाएको समेत गुनासो गरेका छन् । उनीहरुले जागिरमा संलग्न हुदा लिएको सुरुवाती तालिम तथा प्रशिक्षणहरु कै भरमा काम गरिरहेको बताएका छन् । ‘लामो समयदेखि तालिम आयोजना नै भएका छैनन’ फायर म्यान चन्द्र रोक्काले भने ‘स्रोत साधनहरुको व्यवस्था नभएकाले पनि अपुरो रुपमा प्रशिक्षण लिएर जोखिमपुर्ण रुपमा कार्य गर्नु परिरहेको छ । उनले फायर प्रुफ ज्याकेट, आर्मर, बुट लगायतको साधनहरुको व्यवस्था नभएको बताए । रोक्काले अनेक प्रकारको आगो निभाउने प्रविधिहरुको समेत व्यवस्था नभएको सुनाए । उनले भने ‘केमिकल वा ट्रान्सफर्मरहरुमा लागेको आगो निभाउनका लागि प्रयोग गरिने ग्याससम्मको पहुँचमा हामी छैनौ’,‘कार्यालयले त्यसको व्यवस्था गर्न सक्नु पर्छ ’
आगलागी हुने मौसम मानिने चैत वैशाखको समयमा एकै पटक पाँच देखि छ स्थानमा आगलागी हुने गर्दछ । यहाँको आगलागी नियन्त्रण गर्न विराटनगरको दमकलले नसक्दा इटहरी र इनरुवाबाट मगाइने गरिन्छ तर यसो गर्दा आगलागीको क्षतिमा बृद्धि हुने गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्