मधेशी जनताले पटक पटक मधेशकै नेतृत्वबाट धोका खाएर होला सिके राउत प्रकरणमा मानिसहरुले आँकलन गरेनुसार मधेश तातेन । सिके राउत र सिके राउतले बोकेका विचारहरु जब राज्यले उनलाई गिरफ्तार ग¥यो, तब मात्र जनताले बुझ्न पाए कि सिके राउत को हो भनेर । सिके राउतको विचारसँग सिंगो मधेश सहमत होला वा नहोला, त्यो अलग्गै कुरा हो । तर यहाँ सवाल नेपालमा सिके राउत प्रकरण किन घटित भयो भन्ने हो । सिके राउत हाम्रै राज्यव्यवस्था वा यहाँको शासन व्यवस्थाले जन्माएको हो कि कतैबाट आयातित हो ? यो सवाल सबैभन्दा महत्वपूर्ण सवाल हो ।
मुलुकको हरेक व्यवस्था परिवर्तनका निम्ति भए गरिएका सबै आन्दोलन, संघर्ष वा युद्धमा मधेशले बलिदानको कोटा चुक्ता गरेको छ । त्याग, तपस्या र बलिदानका उच्च कीर्तिमानहरु कायम गरेको छ । तर आजपर्यन्त मधेश किन पहाडीया खस अहंकारवादको जाँतोमा पिल्सिरहेको छ ? किन आज आफ्नै मुलुकभित्र औपनिवेशीकरणको चपेटामा छ ? राज्यले मधेशीहरुलाई किन नेपाली भएर पहाडी र यहाँका शासक जातिहरुकै हैसियतमा बाँच्ने अवसर दिंदैन ? मधेशमाथिको क्षेत्रीय, भाषिक तथा साँस्कृतिक उत्पीडनको मात्रा कति छ ? के यहाँका पहाडीया खस अहंकारवादी शासकहरुलाई थाहा छ ?नेपाली भएर पनि आज ‘नेपालीको हैसियतमा’ बाँच्न नपाउनुको पीडाबोध हरेक मधेशीहरुमा व्याप्त छ । काठमाडौंले इन्डियन देख्ने, दिल्लीले नेपाली देख्ने हामी मधेशीको पहिचान के हो ? नेपाली हो कि होइन ? राज्यले यसको जवाफ दिनु पर्दछ । आफ्नै देशभित्र दोस्रो दर्जाको नागरिक भएर बाँच्नुको पीडा कति हुन्छ ? त्यो बाँच्नेलाई थाहा हुन्छ । मधेशीले नेपालमा आफ्नो आत्मसम्मान, स्वाभीमान र पहिचान पाउँदैनन् भन्ने त्यसका लागि अलग्गै राष्ट्रको माग गर्नु के अपराध गर्नु हो ?
संघीयता माओवादी जनयुद्धले गर्भमा हुर्काएको र मधेश आन्दोलनले जन्माएको एजेण्डा हो । संघीयताले मधेशीको वास्तविक पहिचानलाई स्थापित गर्छ । हो, यही विश्वास बोकेर आम मधेशी जनता धैर्यताको अन्तिम सीमामा छन् । अन्तरिम संविधानले दिशाबोध गरेको र विगतको युद्ध र आन्दोलनले जनादेश दिएको यो मुद्दामाथि आज ठूला भनिएका राजनीतिक पार्टीहरुले किन खेलाँची गरिरहेका छन् ?फेरि पनि किन महेन्द्रवादी केन्द्रीकृत र एकात्मक व्यवस्था जबर्जस्त लाद्न खोजिदैछ ? संविधान निर्माणको पूर्वसन्ध्यामा जब यस्ता षड्यन्त्रहरुले खुल्लेआम नाङ्गो नाच नाच्न थाल्दछन्, त्यस्तो अवस्थामा एउटा सिके राउत मात्रै होइन, हजारौं सिके राउतहरुले जन्म लिन सक्छन् । आफ्नो स्वाभीमान, आत्मसम्मान र पहिचानका लागि यातनाका दस्तावेजहरुमा हस्ताक्षर गर्न मात्रै होइन, आवश्यक परे मधेशीहरु बलिदानका निम्ति पनि तयार हुन्छन् ।
व्यक्तिलाई गिरफ्तार गर्दैमा, उसलाई यातना दिंदैमा या उसको नृशंस हत्या गर्दैमा उसको विचार मर्दैन । राज्यले जुन विचारलाई जति दमन गरेर निस्तेज पार्न खोज्दछ, त्यो विचार त्यति नै विष्फोटक बनेर मुखरित हुन्छ । इतिहासका कैयौं दृष्टान्तले त्यसलाई पुष्टि गरेको छ । तसर्थ, राज्यलाई भन्नै पर्दछ, खबरदार ! सिके राउतहरु जन्माउन बन्द गर । त्यसका लागि संविधानमा मधेश र मधेशीका अधिकारहरुलाई पर्याप्त ठाउँ देऊ र त्यसलाई संस्थागत गर । मधेश र मधेशीको नाममा मुठ्ठिभर मधेशी नेतालाई शासनसत्तामा पु¥याउँदैमा मधेश र मधेशी जनताको मुक्ति हुँदैन । सिंगो समुदाय अधिकार सम्पन्न हुने गरी संविधान निर्माण गर्ने सोच शासकवर्गमा जन्मे मात्र सिके राउत र उनले बोकेजस्तो पृथकतावादी विचारलाई रोक्न सकिन्छ । यदि यो संवेदनशील विषयलाई नजरअन्दाज गरियो भने हजारौं मधेशी युवाहरु सिके राउत बन्न बाध्य हुनेछन् । शासकवर्गले सत्ता र शक्तिको अहंकारमा मधेश र मधेशी जनतामाथि बर्षौदेखिको विभेदकारी र उत्पीडनकारी सोचलाई कायम राख्न खोजे त्यो उनीहरुको नै विनाशको कारण बन्ने निश्चित छ ।
‘फुटाऊ र राज गर’ शासकहरुले सँधै यही नीति लिंदै आएका छन् । आज मधेशका मुद्दा लिएर राजनीति गर्ने व्यक्ति र पार्टीहरुबीचमा पनि एकता छैन । एकीकृत र केन्द्रीकृत रुपमा मधेशमा शक्ति जन्मन नसक्नुको कारण हो, उनीहरुको निहित तुच्छ स्वार्थ । मधेश र मधेशी जनतामाथिको उत्पीडनलाई भजाउँदै राज्यसँग वार्गेनिङ गर्ने र आफ्नो व्यक्तिगत स्वार्थ पूर्ति गर्ने । त्यसैकारण उनीहरु टुट फुट र विभाजन भएर स–साना दुकान थापेर राजनीतिको व्यवसाय चलाइरहेका छन् । जसको कुनै अर्थ र औचित्य छैन । यस हिसाबले भन्ने हो भने मधेश उत्पीडनबाट मुक्तिको लागि यी मधेशी दलाल नेताहरु नै प्रमुख रुपले बाधक रहँदै आएका छन् । जसले मधेश र मधेशी जनतालाई आफ्नो स्वार्थपूर्तिको खेलौना बनाइरहेका छन् । यस्ता पार्टी र नेताहरुलाई पनि यस घडीमा खबरदारी गर्नेपर्छ कि निहित स्वार्थका लागि मधेश र मधेशी मुक्तिका एजेण्डासँग कुनै पनि हालतमा सौदाबाजी नगर । ग¥यौं भने तिमीहरुको प्रवृत्तिलाई मधेशी जनताले बेलैमा चिनिसकेका छन् र सबक सिकाइसकेका पनि छन्, त्यसो भएको खण्डमा मधेशमै तिमीहरुको लागि प्रवेश निषेध हुन सक्छ । जनताले दिएको झापडबाट उनीहरुको होश फिरेको छ कि छैन त्यो हेर्न भने केही दिन कुर्नु पर्ने नै भएको छ ।
वास्तवमा मधेश र मधेशी जनताले नेपालबाट अलग हुने र छुट्टै देश बनाउने कल्पना नै गरेका छैनन् । गर्ने कुरा पनि होइन । तर ‘मरता तो क्या नइ करता’ भने झै बर्षोदेखि लादिएको उत्पीडन, विभेदलाई परिवर्तित सन्दर्भमा पनि कायम राख्ने षड्यन्त्र गरिन्छ भने वाध्य भएर यस्ता आवाजहरु उठ्ने गर्दछन् । यसर्थमा सिके राउतहरु जन्मनु विल्कूल स्वभाविक हो । ऐतिहासिक रुपले आवश्यक पनि ।
हामी सबैको घर घरमा टुक्रे चिन्तन छ । एउटै बुवा आमाका सन्तानहरु एकै परिवारमा मिलेर बस्न सक्दैनन् । विवाह गरेपछि, छोराछोरी भएपछि उनीहरु पैत्रिक सम्पत्तिको भागवण्डा लगाउँछन् र आ–आफ्नो नयाँ परिवार बसाउँछन् । पैत्रिक सम्पत्तिमाथि सन्तानको हक हुन्छ र मागेर नपाए उसले प्रचलित कानूनको साहरा लिएर लडेर भएपनि लिन्छ । यदि पैत्रिक सम्पत्तिमाथि सन्तानको हकलाई कानुनले संस्थागत नगरेको हुन्थ्यो भने आज हरेक घरपरिवारमा मारामारको स्थिति हुने थियो । र, परिवार, समाज नै चल्न सक्ने स्थितिमा हुने थिएन । हो, ठीक त्यसैगरी यदि मधेश र मधेसी जनतालाई पनि नेपालको ‘मूलधार’मा समाहित नगर्ने र विभेद÷उत्पीडनलाई कायम राख्ने वा सौताको व्यवहार गरिराख्ने हो भने त्यहाँ पनि मारामार र तनावै तनावको स्थिति पैदा हुन्छ । यसको अर्थ यही हो कि अधिकार नदिएमा देश टुक्रन सक्छ, अधिकार दिएर देश कहिल्यै पनि टुक्रिदैन । शासकहरुले यो कुरालाई बेलैमा गहिरोसँग बुझ्न जरुरी छ ।