सूचना माग गर्दा धम्की, सुरक्षाको लागि प्रशासनमा उजुरी दर्ता

सूचना माग गर्दा धम्की, सुरक्षाको लागि प्रशासनमा उजुरी दर्ता

बाँके (१९ मंसीर)÷ नेपालगन्ज—१०, बाँके निवासी स्थानीय मैफुजुर कबडियाले स्थानीय रानीतलाऊ खुद्रा तरकारी बजार सञ्चालक समितिसंग सूचना माग गर्दा समितिका पदाधिकारीले ज्यान मार्ने धम्की दिएका छन् ।
सूचनाको हक सम्बन्धी ऐनको प्रयोग गरी कवडियाले रानीतलाउ खुद्रा तरकारी बजार संचालक समितिको कार्यालयसंग सूचना माग गर्दा सुचना उपलब्ध गराउनुको साटो धम्की दिइएको हो ।
समितिको कार्यालयमा मंसीर १६ गते सुचना माग्न जाँदा समितिका पदाधिकारीमध्ये ताज मोहम्मदले उक्त निवेदन लिएको तर सूचना नदिएर सूचना मागेकै कारण भन्दै समितिका पदाधिकारीले कुनै पनि मुद्दामा फसाई दिने र ज्यान लिने धम्की दिएको पिडित कबडियाले बताउनुभयो ।
उहाँले समितिसंग बजार स्थापना भएदेखि हालसम्मको लेखा परिक्षण प्रतिवेदन, रानीतलाऊ खुद्रा बजार संचालन समितिको साधारण सभा कति पटक भएको छ? सो को उपस्थिति र माइन्युट, उक्त समितिको पदाधिकारीहरु को–को छन्? नामसहितको विवरण पाऊँ भनी माग गरेका थिए । समितिमा नगरपालिका, कृषि सेवा केन्द्र, जिल्ला कृषि विकासको कार्यालय प्रतिनिधी को को हो ?, उक्त समितिको स्थापना भएदेखि हालसम्मको माइन्युटको निर्णय प्रतिलिपी पाऊँ भनी विवरण सहितको सूचना माग गर्नुभएको थियो । समितिको ५ बर्ष बितिसक्दा पनि अहिलेसम्म निर्बाचन नभएको अवस्था, ५ बर्षदेखि बजारबाट उठेको करको आर्थिक लेखाजोखा नभएको र समितिका केही पदाधिकारीले मात्रै मनोमानी तरिकाले बजार संचालन गरेको तरकारी व्यवसायीहरुको गुनासो आएपछि कबडियाले सूचनाको हक प्रयोग गरी सूचना माग गर्नुभएको थियो । बाँकेस्थित सूचना र मानव अधिकार अनुसन्धान केन्द्रद्धारा सञ्चालित सूचना अधिकार केन्द्रका राकेश मिश्रले घटनाबारे सूचनाको हकको क्षेत्रमा क्रियाशील संघसंस्थाहरुलाई जानकारी गराउनु भएको थियो ।
यसैबिच पिडित कबडियाले आफ्नो तथा परिवारको जीउ ज्यान शान्ति सुरक्षाका लागि जिल्ला प्रशासन कार्यालयसंग लिखित रुपमा निवेदन गर्नुभएको छ । उहाँले मंसीर १७ गते जिल्ला प्रशासन कार्यालय, बाँकेमा निवेदन दर्ता गराउनुभएको हो । सूचनाको हक सम्बन्धी काम गर्ने संस्था सुचना र मानवअधिकार अनुसन्धान केन्द्र अन्र्तगत संचालित सूचना अधिकार केन्द्रले सार्वजनिक निकायले सरल तथा सहज रुपमा सूचना उपलब्ध गराउनुपर्नेमा उल्टै नागरिक तथा सेवाग्राहीलाई डर त्रास देखाई सूचना लुकाउनु ऐन विपरित भएको ठहर गर्दै फ्रिडम फोरममा जानकारी गराएको थियो ।
सुरक्षा अनुगमन पश्चात धम्की फिर्ता
फ्रिडम फोरमको तर्फबाट संस्थाका अध्यक्ष तारानाथ दाहालले बाँके जिल्लाका प्रमुख जिल्ला अधिकारी वेदप्रसाद लेखकलाई टेलिफोनमा कुरा गरी दोषीउपर कारवाहीको लागि ध्यानाकर्षण गराउनु भएको थियो । त्यसपछि जिल्ला प्रहरी कार्यालयका प्रमुखसंग समेत कुराकानी गरेर सूचनाको हक प्रयोग गर्ने नागरीकको जीउज्यानको सुरक्षाबारे जानकारी ध्यानाकर्षण गराउनु भएको थियो । दुवै निकायबाट दोषीउपर छानविन गरी कारवाही गरिने प्रतिबद्धता व्यक्त भएको थियो ।
त्यसपछि फ्रिडम फोरमको मिडिया अनुगमन डेक्सले मंसीर १९ गते पीडितलाई सम्पर्क गरी घटनाबारे सत्यतथ्य पत्ता लगाउने कार्य गरेको छ । साथै पीडक भनिएका बजार व्यवस्थापन समितिका अध्यक्ष बाबु कडरियालाई समेत सम्पर्क गरी यथार्थ जानकारी लिएको छ । डेक्ससंगको कुराकानीमा कडरियाले आफुले आवेशमा आएर गल्ती बोलेको स्वीकार गर्दै आफुले त्यस्तो धम्की दिने आशय नराखेको हुँदा आफु पीडितलाई भेटेर सम्झाउने र १५ दिनभित्र सूचना उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे । आफु बजार व्यवस्थापन समितिलाई सक्रिय पार्ने, पारदर्शी पार्ने कुरामा प्रतिबद्ध रहने बताउँदै उहाँले आफुले सूचना माग गर्नेलाई धम्की नदिने र सम्मान गर्ने प्रतिबद्धता व्यक्त गरे । स्थानीय स्तरमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र, बाँके, सूचना अधिकार केन्द्र, बाँकेसहित स्थानीयको पहल र केन्द्रीयस्तरबाट भएको दवावमुलक पहलपश्चात यो उपलब्ध भएको हो । यो घटनालाई लिएर फ्रिडम फोरम लगायत सूचनाको हकका क्षेत्रमा क्रियाशील संघसंस्थाहरुले सूचना माग गरेकै आधारमा कुनै नागरीकलाई धम्की आउने गम्भीर मानव अधिकार उल्लंघन, स्वतन्त्रताविरुद्धको काम, सूचनाको हकको ऐन विपरितको कार्य भएको ठहर गर्दै आपत्ती व्यक्त गरेका छन् भने दोषी उपर कडा कारवाही गर्न स्थानीय प्रशासनसंग जोडदार माग गरेको छ ।
मध्य पश्चिमको बाँके जिल्लामा स्थानीय युवाहरुले सूचनाको हकको प्रयोग गर्ने र भ्रष्टाचार, अनियमितताहरुको न्यूनीकरणको लागि सर्वसाधारणलाई सूसुचित गर्ने अभियान जारी राखेका छन् । यसैको प्रभावस्वरुप यो घटनामा सबै पक्षको सकारात्मक सहयोग भई समस्या समाधान भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्