जामुनखाडीमा आकर्षण थपियो

जामुनखाडीमा आकर्षण थपियो

लीलाराज झापाली

सुरुङ्गा । पूर्वाञ्चलकै चर्चित पर्यटकीय क्षेत्र जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्रमा थप आकर्षणका केन्द्र थपिएका छन् । सो पर्यटकीय क्षेत्र भित्र निर्माण गरिएको झोलुङ्गे पुल र थप मृगस्थलीको शनिबार हजारौँ आन्तरिक तथा बाह्य पर्यटकको भीड माँझबाट पूर्वाञ्चल क्षेत्रीय प्रशासक अन्नपूर्ण दासले शिलान्यास गरेका छन् ।
२३ लाख लागतमा निर्माण गरिएको ५० मिटर लामो झोलुङ्गे पुल १८.७५ हेक्टरमा रहेको सिमसार वारपार गर्ने माध्यम मात्र बनेको छैन, तराईमा रहेका तर झोलुङ्गे पुल नदेख्नेहरुका लागि प्रमुख आकर्षणको केन्द्र समेत बनेको छ । झोलुङ्गे पुलका लागि टिबीएसयु नामक गैरसरकारी संस्थाले ३ लाख ७५ हजार रुपैयाँको सामग्री उपलब्ध गराएको सामुदायिक वनका उपाध्यक्ष डबलबहादुर भण्डारीले बताए ।
नवनिर्मित थप मृगस्थलीमा प्रमुख अतिथि दास लगायतका अतिथिले २ वटा मृगको बच्च छाडी उद्घाटन गरेका थिए । यसअघि समेत वन समूहमा रहेका करिब ४ बिघा क्षेत्रफलमा रहेको चित्तल प्रजातीको मृगस्थलीमा हाल १७ वटा मृग रहेका छन् । २ मृगस्थलीसँगै सो सिमसार क्षेत्रमा हाल पर्यटन आकर्षणका लागि झोलुङ्गे पुल, बोटिङ, चिडिया घर, चिल्ड्रन पार्क, पिकनिक स्पट, फूलबारी लगायतका मनोरञ्जनात्मक सामग्री रहेका छन् ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि क्षेत्रीय प्रशासक दासले पर्यापर्यटनमा जामुनखाडी सिमसारले महत्वपूर्ण भूमिका खेलिरहेको भन्दै यसलाई थप विकास र विस्तारका लागि नेपाल सरकार, वन मन्त्रालय, जिविस, पर्यटन वोर्ड सबैसँग समन्वय गरी अगाडी बढ्न आफ्नो क्षेत्रबाट सक्दो लागि पर्ने बताए ।
यसैगरी राष्ट्रपति चुरे बचाउ अभियान सामुदायिक वनको क्षेत्राधिकार कटौती गर्नको लागि नभई चुरे क्षेत्र तथा खोलानालाबाट हुने गरेको अत्याधिक ढुंगा, गिटी, बालुवा निकासी चुरे क्षेत्रको दोहन रोक्न ल्याइएको भन्दै यसबारेमा सबै सामुदायिक वन उपभोक्तालाई विश्वास गर्न समेत अनुरोध गरे । यसै गरी कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेल, जिल्ला वन अधिकृत इन्द्रमणि भण्डारी, सामुदायिक वन महासंघकी केन्द्रीय सदस्य सङ्गीता थापा, जिल्ला अध्यक्ष छत्र पौडेल, उद्योग वाणिज्य संघ कनकाईका अध्यक्ष युवाराज संग्रौला, नेकपा एमालेका कनकाई नगर अध्यक्ष कोमलप्रसाद पन्त, सुरुङ्गा जेसीजका संस्थापक अध्यक्ष लीला चिमरिया लगायतले पर्यटकीय क्षेत्र यस सिमसारले काठ दाउराको मात्र भर नपरी वैकल्पिक बाटोबाट समेत आम्दानी गरी यस क्षेत्रको विकास गरेको भन्दै प्रशंसा गरेका थिए ।
कार्यक्रममा वन समूहका तथा पर्यटकीय स्थलका अध्यक्ष पर्शुराम गिरीले भावी कार्य दिशा प्रस्तुत गर्दै यसको ऐतिहासिक पक्षको बारेमा समेत प्रकाश पारेका थिए । सञ्चारकर्मी मोहन नेम्वाङले सञ्चालन गरेको कार्यक्रममा विभिन्न जातजातिले सांस्कृतिक प्रस्तुति राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्