डिग्री अभियान अलपत्र

डिग्री अभियान अलपत्र

 

प्रदीप परियार

बिर्तामोड । पुराण सञ्चालन गरेर डिग्री कक्षा सञ्चालन गर्ने सपना बुनेको त्रिदेव बहुमुखी क्याम्पस चारआलीले चार वर्षमा पनि कक्षा सञ्चालन गर्न सकेको छैन ।
क्याम्पसको स्तरबृद्धि र डिग्री कक्षा सञ्चालन गर्ने उद्देश्यले २०६६ सालमा भव्यताका साथ साप्ताहिक पुराण आयोजना गरिएको थियो । पुराणबाट संकलित सहयोगले कक्षा सञ्चालन गर्न अझै क्याम्पस सफल भएको छैन । पहाडी क्षेत्रका विद्यार्थीको मुख्य आकर्षणको रुपमा रहेको त्रिदेव बहुमुखी क्याम्पसले चर्चित कथावाचक दिनबन्धु पोखरेललाई पुराणमा उपस्थित गराएको थियो ।
पुराणबाट करिब ३० लाख नगद र चार करोड बराबरको जग्गा दाताबाट प्राप्त भएको छ । डिग्री कक्षा सञ्चालन गर्ने एउटा उद्देश्य भए पनि आपसी लडाइँले वर्षौं बिताएको क्याम्पसले दाताको सहयोगलाई सम्मान सकेको छैन । सहिद दशरथचन्द मावि र क्याम्पसले संयुक्त रुपमा आयोजना गरेको पुराणबाट प्राप्त सहयोग कसको भागमा कति भन्ने विवादले पनि डिग्री सञ्चालन गर्ने अभियानमा धक्का पु¥याएको छ ।
क्याम्सको स्तरबृद्धि गर्न स्थानीयस्तरदेखि राष्ट्रियस्तरका दाताले सहयोग गरे । करोडौँ सहयोग संकलन भयो । तर, स्नातक पूरा गर्ने सोही क्याम्पसका विद्यार्थीले डिग्री पढ्न पाएनन् । २०६७ सालमा क्याम्पसले त्रिभूवन विश्वविद्यालयलाई धरौटीवापतको छ लाख ५० हजार रुपैयाँ बुझायो । धेरौटी बुझाएको चार वर्ष बित्दा पनि कक्षा सञ्चालन हुने छाँटकाँट छैन । क्याम्पस प्रशासनले कक्षा सञ्चालनका लागि आवश्यक दबाब दिइरहे पनि त्रिभूवन विश्वविद्यालयले औपचारिक रुपमा सञ्चालनको अनुमति दिएको छैन । क्याम्पसका प्रमुख माधव प्याकुरेलले बताए अनुसार कक्षा सुरु गर्न त्रिविका डिनले थामथुमको शैलीमा भनेका छन् । दाताहरु निराश भइसकेको अवस्थामा पनि क्याम्पस प्रशासन दरिलो अडानका साथ लाग्न सकेको छैन । भर्खरैमात्र क्याम्पसलाई स्थानीय लीलादेवी प्रसार्इंले १० धुर र डिल्लीराम उपाध्यायले ९ धुर जग्गा उपलब्ध गराएका छन् । आशा र उत्साहले दानवीर दान गर्न उत्प्रेरित भए पनि कक्षा सञ्चालन नहुँदा भने निराशा बढ्दै गएको छ । पूर्वको मेची अञ्चलबाटै सामान्य परिवारका विद्यार्थीलाई पढ्न आर्थिक रुपले सहज भएको सो क्याम्पस डिग्री कक्षा सञ्चालनको अभियानमा चार वर्ष जुट्दा कुनै नतिजा प्राप्त गर्न सकेन ।
स्थानीय राजनीतिक दलको भूमिका प्रभावकारी नहुँदा पनि क्याम्पसमा डिग्री सञ्चालन हुन नसकेको दुवागढीका एक अगुवा बताउँछन् । नेपाली कांग्रेस दुवागढीका सभापति सन्तोष न्यौपानेले क्याम्पसमा डिग्री कक्षा सञ्चालनको सम्बन्धमा जानकारी नभएको बताए । उनले पुराणबाट संकलित सहयोगमा स्कुल र क्याम्पसबीच विवाद भएको जानकारी दिए । दुवागढी एमाले अध्यक्ष शंकर पोखरेलले पुराण लगत्तै स्कुल र क्याम्पसबीच भएको विवाद मिलिसकेको बताए । प्राप्त सहयोग रकम २० प्रतिशत विद्यालयले र ८० प्रतिशत क्याम्पसले सदुपयोग गर्ने सहमति भएको जनाएका छन् ।
हाल क्याम्पसमा ५३८ विद्यार्थी अध्ययनरत छन् । क्याम्पसका अध्यक्ष हरिचरण बानियाँले कक्षा सञ्चालनका लागि माग र ताकेता राम्रैसँग गरिए पनि कुन कुरामा अड्किएको हो भन्ने कुरामा प्रष्ट नभएको बताए । उनले राजनीतिक हस्तक्षेप हुन सक्ने संकेत गरेका छन् । क्याम्पस प्रशासन, स्थानीय राजनीतिक दल र दाताबीच समन्वय नभए कक्षा सञ्चालन सपनामात्र बन्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्