२४ असार २०७७, बुधबार

म अनि मेरो कथा

२०७४ साल, मेरो निकै पर्खाइ मा रहेको साल | साथीभाई संग गरेको वाचा सम्झेको छु राम्ररी | अनि याद आइरहेको छ बितेका ति पलहरु | tina bhattraiसिरानी मुनिको गुच्चा टिपेर टल्केको सिंगानको शृंगारले कचेरा मिच्दै खोपी र हेडीङ्गको बिचमा गुच्चा गुड़ाउनु मेरो दिनचर्या थियो | भोकले थाहा हुन्थ्यो घाम टाउको माथि पुगिसकेको | खोइ किन हो, भात खानु अघि हात धुनुपर्छ भन्ने चाहिं लाग्थ्यो, नारीबाट कालो पनि चुहाउँदै, ढाड सोजिनुजेल सम्म भात खानु पर्थ्यो मलाई | अनि साँझको एक भरि घाँस संगै सकिन्थ्यो घरको लागि सदस्यको नाताले पुर्याउने कर्तव्य |       दिनहरु यसरी नै, निकै सजिलो गरी बिते | ५-६ वर्षको उमेरको भएपछी वनजंगल पनि गर्न थालियो | ठुली दिदि जस्तो रुख पनि चढ्न सक्ने भएकोले उहाँ संग जतापनि पुग्थे तिंदु र काफलको गुलियोसंग रमाउन | गोरु सवारीको स्वाद चाख्न त बिरलैले पाँउछन्, मेरो जस्तो भाग्य सबैको कहाँ? हाहा ! गोरे र गाजले जस्तो सन्तोकी कहाँ भेटिन्छन त सजिलै | मेरो खुट्टाको सदाबहार मयलको मुख्य कारण थियो तिंदुगैरीको भिरको ऐंसेलु, डडेलो लागेको भिर बाट घस्रिनु पर्ने बाध्यता जो थियो | बिहान सात बजेनै जंगल पुगेर घाँस चोर्नु, डाँडाको आलिमा पौडी खेल्नु, माछा मर्नु मेरा कला थिए |       मेरा गुच्चा खेल्ने बेला देखिका साथीहरु लाहुरे, भुन्टे, टाउके, डल्ले, घनटाउके,लाटी, कोप्ची, डाडु, फ्यार्ल्याक्के; जंगल धाउने साथी पनि थिए | चैतको ठाडो घामले न त ऐंसेलु र काफलले, केहीले पनि बिसन्चो बनाउन सक्दैनथियो हामीलाई | जुकाले रगत चुस्दा खराब रगत खाईदिन्छ भनेर छोडिदिने हामीलाई सिरुको कटाई काँडाको रटाइ त वास्ता पनि हुँदैन थियो | बकेर्नो भैंसी भएको भएर दाजुभाई र दिदि सबैलाई दुध पुग्दैन थियो | चार दिनको पर्खाइ पछि बल्ल आउथ्यो दुध खाने पालो | आफ्नो पालोमा धेरै दुध पाउने आशामा खुब चढियो टाँकिको सुरिलो पनि |        समुहमा म चाहिँ पढ्नमा पनि तेज थिएँ | किताब च्यातेर फाल्ने बानी भएको केटो कक्षामा प्रथम हुँदा चाहिँ अचम्म पनि लाग्थ्यो | आङ नै सिरिङ्ग हुने भिर हेर्दै घाँस काट्नु मेरो सोख थियो | धेउसि भैलो बाट उठेको पैसाले गरिन्थ्यो रात्री बनभोज | हामी जाने जंगल ठुलो भएको भएर बाघ र स्यालको डर हुन्थ्यो तर हाम्रो समूह यति ठुलो थियो कि यमराज नै आएपनि डराएर फर्किन्थ्यो होला | ठुलो मात्र थिएन, एक अर्कामा नङ र मासुको जस्तो थियो सम्बन्ध पनि | डण्डी बियोको खेल र काँक्रो चोरेको त झन् म जिन्दगीमा कहिले पनि बिर्सिन्न होला | नाच्ने, गाउने, रमाउने नै थियो मेरो लागि जिन्दगीको परिभाषा |      साल २०७० थियो , ६ कक्षाको जाँच सकाएर काठमाडौँ आउन लागेको बेलामा आँखा टिलपिल पार्दै बिदा गरेका थिए साथीहरुले | १० सकेपछि फेरि गाउँ फर्किने कुरामा विश्वस्त हदै आँसु दबाएर बिदाइको हात हल्लाए मैले पनि | कक्षा नौ मा हुनुजेल सम्म पनि साथीभाई संग कहिले कहिँ कुरा भइरहन्थ्यो | अचानक मेरा साथीहरु म संग सम्पर्क बिहिन हुन थाले | अहिले जंगल पनि संगै जादैनन् रे | गाँजाको धुँवामा जिन्दगी उडाइरहेका छन् रे | गाउँको ठुलो भनाउदो राजनीतिक टाउकेहरुको कठपुतली बनेका छन् रे | रंग फरक, जात फरक, जिउने तरिका फरक, तर पनि एउटै थियो हाम्रो मुटुको धड्कन | एक अर्काको लागी धड्किने मुटु, अहिले त्यही मुटुमा छुरी रोप्न आतुर छ रे |    हाम्रो जंगल वाणा गाउँ पट्टि पर्थ्यो | त्यो जंगल वाणा राज्यको भएको छ रे | टाउके, दिपेश वाणा एक्लै जंगल जाँदा बाघको सिकार भएछ, कोप्चीलाई आफ्नो बनाउने सपना संगै | कोप्ची जातमा मगर्नी थिई | हाम्रो गाउँ वाणा राज्य, गुरुङ राज्य, मगर राज्य, दमाई राज्य, सार्की राज्य, ठकुरी राज्य, ब्राह्मण राज्य अनि त्यस्तै त्यस्तै धेरै राज्यमा विभाजन भएपछी खुब मनमुटाब बढेको छ रे | आफ्नो आफ्नो राज्यको विकास गर्ने संघियताको परिभाषा सोझा जनताले नबुझेर, अबुझ हुन बाद्ध्य बनाईएर, अर्काको राज्यको खेदो गर्ने भनेर बुझेका छन् रे |       कोप्ची बानीले पनि राम्री रुपले पनि राम्री भाकी भएर होला हाम्रै समुहका केटाहरु पनि उमेर बढ्दै गएपछि उसंग जीवन बिताउने सपना बुन्न थालेका थिए | उता घन टाउके जातले ब्राह्मण नि कोप्चिको कम्ता पुच्छर लाग्थेन, पारा बुझ्दा कोप्ची पनि घन टाउके पट्टि चाहिँ ढल्केको जस्तो लाग्थी | मगर राज्य र ब्राह्मण राज्य छुट्टाइएको काँडे तारमा घन टाउकेको लाश भेटियो रे | एक त जात नमिल्ने त्यही माथि फरक राज्यको | जातले बरु त्यति फरक नपार्ला, राज्यले एकदम फरक पार्छ रे आजकल | त्यही भएर मगर्नी कै आफन्त पट्टि सबैले शंका गरेका छन् | सोझा जनतालाई पहिले शिक्षा नदिई यो संघियताको भूत चढाउनु हुँदैन थियो | बुझ्दैछु डलरको लोभले यस्तो खेल रचेका छन् , ठुला बडा भनाउदाहरुले |      उता कोप्चीको पनि हालत ठिक छैन | भुन्टे, जातले ठकुरी नै , ले फोन गरेर खबर दिएपछि एक महिना अघि अस्पताल भेट्न गएको थिएँ | मुर्छा परिरहन्छे, होस् मा भएपनि टोलाएर बसिरहंछे | मलाई देखेपछि "प्याकुले हाम्रो जिन्दगी किन यसरी बदलियो ?" भन्दै भक्कानो फोडेर रोइ | मैले पनि आफुलाई सम्हाल्न सकिन | अनि मलाई पनि आफ्नो आफन्तको सिकार बन्न नदिन होला , छिटो छिटो भगाइ त्यहाँ बाट | उसको वचन तोड्न नसकेर फेरि भेट्न जान सकेको छैन | थाहा छैन ठिक भई कि भईन |       लाटी र डाडु पनि आजकल बोल्दैनन रे | लाटी, सार्की राज्य कि अनि डाडु गुर्सिनी, पहिले एउटै थालमा बनभोज खाएका | एउटै ओछ्यानमा सुतेर जुम्रा सार्ने अनि हामीलाई जुम्रा हेर्दे भनेर हैरान पार्थे | लाटी त झन् हिरोनी भाकी छ रे | त्यही ढुंगाको टिका लाएर मित लगाकी डाडु संग, अहिले त्यही ढुंगालाई सैतान भन्छे रे |     लाहुरे, डल्ले र फ्यार्ल्याक्के त गुण्डा गर्दी गर्दै हिड्छन रे | गरिबीले गर्दा फरक जस्तो कट्टु लगाऊथ्यो , बाउको पाईन्ट काटेर | अनि मैले नै बढी कट्टु फर्ल्याक फर्ल्याक पार्दै हिड्ने भएर फर्ल्याक्के नाम राखिदिएको थिएँ | मनको नराम्रो थिएन | बाउको दमको रोग निको पर्न पैसा खोज्दै त्यस्तो काम गर्न पुग्यो रे | दुइ महिना अघि कुरा हुँदा, जेल पुगिस भने के गर्छस भनेको थिएँ | ठुलो मान्छेको छाँयामा छु, जति जेल गयो त्यति पद बढ्छ मेरो भन्दै थियो |       लाहुरेको त झन् सपना नै लाहुरे बन्ने थियो | दमाई राज्यको मान्छे भएको भएर, मगर राज्य र गुरुङ राज्यले लाहुर जाने हाम्रो संस्कृति हो भन्दै उसलाई भर्ति हुन दिएनन् रे | अनि कुस्ती खेल्ने ठाउँ खोज्दै पुगेछ दौरा सुरवाल धारी राक्षस भएको ठाउँमा | डल्ले त झन् एक ढाँक उखुमा पनि मरी जान्थ्यो, कट्कटे देखेपछि मन थाम्न सकेन मलाई थाहा छ | अनि म; सपना ठुलै थियो मेरो , धेरै पढेर गाउँ फर्किने | सरकारी विद्ध्यालयको स्तर बढाउने | हाम्रो विद्ध्यालय ब्राह्मण राज्य पर्छ अनि त्यो राज्य त झन् उम्लेर पनि पोखिसकेको छ रे | हामी पहिले देखि जान्ने सुन्ने , त्यो ठकुरीलाई मान्नु पर्दैन, ठकुरीलाई हाम्रो इलाका छिर्न नदिने भन्छन रे |           अनि हाम्रो खेत पनि जुन जुन राज्यमा पर्यो त्यही त्यही राज्यहरुले आफ्नो बनाए रे | कृषि संगै हुर्केको बढेको भएर त्यसमा नै भविष्य बनाउने सपना थियो | अब माटो नै मेरो नभएपछि के गरुँ? १०० वर्ष भन्दा लामो सताईको बदला लिन ठकुरीलाई सबैले आफ्नो दुश्मन बनाएका छन् रे | अब भूतमा फर्केर बाँदर बन्न खोज्नु भन्दा, आधुनिकबाट पनि फड्को मारेको अत्याधुनिक विकासमा हाम्रो ध्यान जानु पर्ने होइन र? कसरि सम्झाउँ म ? चार वर्ष अघि सुरु भएको यो घाउ अब त क्यान्सर कै रुप लिइसक्यो | निको हुने उपाय केहि देख्दिन | यो १० पनि सकिएको साल सबैको भेट हुने योजना थियो | रात्री बनभोज जाने अनि नेप्टि काकीको काँक्रो चोर्ने योजना थियो | काँक्रो चोर्ने त रमाइलो गर्ने बहाना मात्र हो | नेप्टि काकीको साच्चै माया लाग्छ मलाई | भेटेपछि एउटा भेल्भेट्को सारी किनेर दिन्छु सोचिराको थिएँ | उनि त झन् तामांग राज्यको केन्द्रिय महिला सदस्य रे, मैले दिएको सारी लेलिन् र? 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु



COVID-19 Stat: 2020-7-7

Country Confirmed Death
Nepal1616835
India74241720642
China849174641
Malaysia8674121
Qatar100945134
Australia8886106
US2996098131480
Saudi Arabia2171082017