- सरकारले रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गत दक्षिण कोरिया जान लिइने भाषा परीक्षाका लागि ९० हजार फर्म तयार गरेको छ । बिहीबारदेखि काठमाडांैका ५ र उपत्यकाबाहिरका ५ केन्द्रबाट भाषा परीक्षाको फर्म वितरण हुँदैछ ।
ईपीएस कोरिया शाखाका प्रमुख डिल्लीराम बाँस्तोलाले कोरिया जान इन्छुक नेपाली बढ्दै गएकाले यो वर्ष ९० हजार भाषा परीक्षा आवेदन फर्म तयार गरी वितरण केन्द्रमा पठाइसकेको जानकारी दिए । “काठमाडौं उपत्यकामा उच्च चाप हुने भएकाले बुधबार टोकन वितरणको काम भइसकेको छ,” उनले भने, “रातभर लाइनमा बस्नुपर्ने भएकाले टोकन वितरण गरिएको हो ।” न्यून लागत, उच्च पारिश्रमिक र बलियो मानवअधिकार भएकाले कोरिया धेरै नेपालीको रोजाइमा पर्छ ।
उपत्यकाका लागिमात्र ५० हजार फर्म वितरण हुने अनुमान छ । उपत्यकाबाहिरका लागि ४० हजार फर्म पठाइएको छ । “पहिले लाइन धेरै हुन्थ्यो, यसपाली फर्म पर्याप्त भएकाले पहिलो दिनमै भर्नुपर्छ भनेर आत्तिनुपर्दैन,” बाँस्तोलाले भने ।
भाषा परीक्षा जेठ ३० र ३१ गते पोखरा र काठमाडौंमा हुनेछ । यसपटक ७ हजार १ सय युवा उत्तीर्ण हुनेछन् । यसमध्ये कृषि क्षेत्रतर्फ २ हजार २ सय र औद्योगिक क्षेत्रतर्फ ४ हजार ९ सय हुनेछन् । यो संख्या गत वर्षको भन्दा दोब्बर हो । गत वर्षको परीक्षामा ३ हजार ६ सय उत्तीर्ण भएका थिए ।
काठमाडौं उपत्यकामा नेपाल वेद विद्याश्रम संस्कृत मावि वनकाली गौशाला, काठमाडौं भ्याली उच्च मावि महाराजगन्ज, ल्याबरोटरी उच्च मावि कीर्तिपुर, महेन्द्र आदर्श विद्याश्रम सातदोबाटो र च्यासल फुटबल खेल मैदानबाट फर्म वितरण हुनेछ । उपत्यकाबाहिर भने धरानको धरान सभागृह, बुटवलको प्रदर्शनी मण्डप, पोखराको विन्ध्यवासिनी उच्च मावि बाटुलीचौर, डडेलधुराको कर्मचारी मिलन केन्द्र र धनुषाको जनकपुर चुरोट कारखानाको कभर्ड हलबाट फर्म वितरण हुनेछ ।
यो वर्षको भाषा परीक्षा चाँडै भए पनि कोरिया भने सन् २०१६ देखिमात्रै जान सुरु हुनेछ । सन् २०१५ मा कामदारको रोस्टर बनाउने काम हुन्छ । यसअघि भाषा परीक्षामा उत्तीर्ण भई रोस्टरमा रहेका कामदारलाई कुनै बाधा पार्दैन ।
सन् २०१४ मा ६ हजार ३ नेपाली युवा कोरिया पुगेका थिए । सन् २०१५ मा २ हजार ४७६ युवाको श्रमसम्झौता आइसकेको छ । यो अहिलेसम्मकै बढी संख्या हो । नेपाल र कोरियाबीच सन् २००७ मा द्विपक्षीय श्रमसम्झौता भई स्न २००८ बाट कामदार जान सुरु भएको हो । हालसम्म करिब २८ हजार युवा ईपीएसमार्फत कोरिया पुगिसकेका छन् ।