एमाओवादी नेतृत्वको सात दलीय मोचाद्वारा संविधानसभाको बैठक बहिस्कार

एमाओवादी नेतृत्वको सात दलीय मोचाद्वारा संविधानसभाको बैठक बहिस्कार

काठमाडौं, बैशाख १० एकीकृत नेकपा माओवादी नेतृत्वको सात दलीय संघीय गणतान्त्रिक मोर्चाले संविधानसभाको बैठकमा सहभागी नहुने निर्णय गरेको छ । सात दलीय मोर्चाको आज एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको काठमाडौको लाजिम्पाटस्थित निवासमा बसेको बैठकले संविधानका चार वटा विवादित विषय मध्ये कुनैमा पनि ठोस सहमति नभएको भन्दै संविधानसभाको बैठकमा सहभागी नहुने निर्णय गरेको हो । प्रमुख सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेसँगको तीन दिन पहिले बालुवाटारमा भएको छलफलमा एमाओवादीले बैठकमा सहभागी हुने संकेत गरेको थियो । बालुवाटार बैठकमा मोटामोटी सहमति भएका निर्वाचन प्रणाली, न्याय प्रणाली र राज्यको शासकीय स्वरुपलाई अन्तिम रुप दिएर मस्यौदा समितिमा पठाउने तथा संघीयताको विषयमा सहमतिका लागि छलफल जारी राख्ने समझदारी भएको थियो । तर तराई मधेश लोकतान्त्रिक पार्टी, मधेशी जनअधिकार फोरम नेपाल, सद्भावना पार्टी र संघीय समाजवादीले समझदारीको विरोध गरेपछि एमाओवादी संविधानसभाको बैठकमा सहभागी नहुने निर्णयमा पुगेको हो । संविधानसभाले गत माघ ११ गते प्रश्नावली प्रस्ताव समिति गठन गरेयता एमाओवादी लगायतका १८ वटा विपक्षी दल शोक प्रस्ताव पारित गर्न बसेका वाहेकका संविधानसभाका बैठकमा सहभागी भएका छैनन् । एमाओवादीको केन्द्रीय कार्यालयको चार दिन पहिले पार्टी अध्यक्ष पुष्पकमल दाहालको निवासमा बसेको अनौपचारिक बैठकले संविधानसभाको बैठकलाई अब धेरै समय अनिर्णित बनाउन नहुने निष्कर्ष निकालेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्