लेखनाथ खतिवडा
पाँचथर । ५० वर्ष श्रम शोषण गरेका एक अभिभावकले आँखाको उपचार गराउन भन्दै झुक्याएर एक वृद्धालाई ज्येष्ठ नागरिक आश्रममा छोडेको रहस्य खुलेको छ ।
पाँचथरको फिदिम नपा २ स्थित सिद्धपोखरी सेवा सदनले सञ्चालनमा ल्याएको आश्रममा इलाम घर भई झापास्थित शनिअर्जुन नगरपालिका १ स्थित रमेश भट्टराईको घरमा बस्दै आएका ७५ वर्षीय तिलोचन भण्डारीलाई आश्रममा झुक्याएर ल्याएर अलपत्र छोडेका छन् ।
मानव अधिकारकर्मी र पत्रकारसँग कुरा गर्दै भण्डारीले भने,‘मालिक रमेश भट्टराईले आँखा उपचारको लागि डाक्टरलाई भेट गर्न लैजाने भन्दै यहाँ ल्याएर छोडे । भोलि आउँछु बस्दै गर्नू भनेर हिँडेका उनी अहिलेसम्म फर्केनन् ।’
उनले भने, ‘सक्नु हुन्छ भने मलाई आँखाको उपचार गराइ दिनुस् र जीवन दिनुस् साथै साना मालिकलाई भेट गराइदिनुस् ।’
सानै उमेरमा आफ्ना आमा, बाबु र दाजुको मृत्यु भएपछि आफूलाई मालिक (रमेश भट्टराई) का वुवा वुढा मालिकले फकाएर शनिश्चरेस्थित उनको घरमा लगेर राखे ।
‘मेरो ५० वर्षको श्रम खाए, तलब दिन्छु बिहे गरिदिन्छु, जिन्दगी सुध्रन्छ भन्दै मालिकहरूले काम लगाए । अहिले आँखा नदेख्ने भएपछि मलाई यसरी नै थाहा नदिई आश्रममा ल्याएर बेपता भए,’ गहभरी आँसु पार्दै उनले गुनासो गरे ।
मालिककोमा काम गर्ने सिलसिलामा बाँसको छड्केमा परेर एउटा आँखा बन्द भयो । अर्को आँखा पनि देख्न छोडेँ अब यो बुढाले काम गर्न सक्दैन भनेपछि मलाई नै थाहा नदिइ साना मालिकले यसरी छोडेर गए ।
‘मैले उनीहरूको स्याहार सुसार मात्र होइन घरको एउटा जिम्मेवार सदस्यको रुपमा काम गरेको छु । उनका छोराछोरीको स्याहार सुसारदेखि दिशा पिसाव समेत धोएको मान्छेलाई यसरी अलपत्र छाड्दा कसको मन रूँदैन,’ आँसु पुछ्दै भने ।
उनले कति सालमा जन्मेको समेत हेक्का राख्न नसक्ने भण्डारी आफूलाई मासिक तलव दिने भन्दै झुक्याएर वल वैश हुञ्जेल काम खाए अनि आँखा देख्न नसक्ने भएपछि यहाँ ल्याएर छोडेकोमा वढि विस्मात मानेका छन् ।
एकपटक साना मालिकलाई भेट्न पाए राम्ररी कुरा गर्ने भन्दै भण्डारी मालिकले त्यसो गरेपनि मालिक्निलाई अलिकति दया जाग्नु पर्ने हो, किनभने म उनलाई धन्दा पातदेखि सवै काम सघाउँथें ।
जेहोस् मालिकको घरमा भन्दा राम्रो बसाइ यहाँको भएपछि एकपटक साना मालिक र मालिक्नीलाई भेटी आफ्नो सामान रूपैयाँ पैसा तथा आफ्नो नागरिकता माग्ने बताउँछन् ।
पेन्सन पट्टासमेत मालिकले नै गायव गरी दिएको कति पैसा आउँछ आफूलाई नदेखाएको गुनासो गर्दे आजसम्मको श्रमको मूल्य मालिकबाट दिलाइदिन माग गरेका छन् । ज्येष्ठ नागरिक आश्रममा भने निजको नागरिकता र पेन्सन पट्टासमेत बुझी राख्ने भनी गरिएको प्रमाण फेला परेकाले घटना थप रहस्यमय भएको छ ।
आफ्नै भतिजाहरू भएपनि आफूलाई नहेरेको, आफ्नो अंश वापतको सबै सम्पति उनीहरूले नै खाइदिएको आरोप लगाए । फिक्कल छेउमा मित्रलाल र बालकुमार आफ्ना भतिजहरु भएको भनेपनि यकिन ठेगाना बताउन सक्दैनन् ।
गत फागुनमा रमेशले भण्डारीलाई उपचार गराउने भन्दै शनिअर्जुन नगरपालिकाको सिफारिस साथ पाँचथरस्थित ज्येष्ठ नागरिक आश्रममा ल्याएर छाडेपनि उनको सामाजिक उतरदायित्व त्यतिमै पूरा नहुने स्थानीय समाजसेवी राजेन्द्र अधिकारीले बताए । ‘कसैले ५० वर्ष श्रम शोषण गर्छ र अन्त्यमा उसलाई काम नलाग्ने भएपछि त्यसै फाल्छ भने त्यसको सामाजिक उतरदायित्व पूरा हुन्न । उसले ५ दशकको श्रमको मूल्य बराबर भण्डारीलाई केही त गर्नेपर्छ ।’ अधिकारीले थपे ।
आफ्नो वास्तविक उमेर पनि थाहा नभएका भण्डारी २०२०÷०२२ सालबाट झापाको शनिश्चरे–१ का रमेश भट्टराईको घरमा काम गरेको बताउँछन् ।
आफ्ना बावु र जेठो दाईको मृत्युपछि उनी भट्टराईको घरमा काम गर्न थालेका हुन् । प्रशस्त तलब दिने र खान लगाउन राम्रो दिने आश्वासन भण्डारीलाई दिइएको थियो ।
कृषि सम्बन्धी सबै काम गर्ने भण्डारीले घरका भाँडा माँझ्नेसम्मका काम गरे । भट्टराईको घरमा बस्दा बस्दै उनले विवाह पनि गरेनन् । परिवारका सबै सदस्यसँग सम्बन्ध पनि टुट्यो । आफ्ना दाई बिर्तामोडमा र भतिजाहरू फिक्कलमा छन् भन्ने उनले सुनेका रहेछन् ।
भट्टराईले नै भण्डारीलाई जिल्ला प्रशासन कार्यालय झापाबाट नागरिकताको प्रमाणपत्र समेत दिलाएका थिए । ‘मेरो नागरिकता पनि उतै छ, सबै सामान पनि उतै छ’, भण्डारीले भने,‘यतिबेर काम गरेको एक पैसा पनि लिन पाएको छैन् ।’
वुढेसकालमा यसरी वृद्धाश्रममा बस्नुपर्ला भन्ने चाहीँ भण्डारीलाई नलागेको बताउँछन् । ‘मेरो उपचार गरिदिए, म यहीँ बस्ने थिएँ,’ सम्हालिन मुस्किल पर्दै भण्डारीले भने,‘यतिञ्जले काम लगाइसकेपछि मलाई उतै उपचार गरिदिनु नी, किन यहाँ अलपत्र पार्नू पापीले ?’
Mechi times