बिनु तिम्सिना
मोरङको पथरीशनिश्चरे–१ स्थित भुल्के जालपादेवी सिमसार क्षेत्र ओझेलमा परेको छ । सिमसार क्षेत्रमा रहेको भुल्के पोखरी र जालपादेवी मन्दिर लगायतका पूर्वाधारहरुले त्यहाँ पुग्ने जो कोहीको पनि मन लोभ्याउन सक्छ । तर संरक्षण र प्रचार–प्रसारको अभावमा यो क्षेत्र ओझेलमा परेको छ । भुल्के जालपादेवी सिमसार पर्यटकिय हिसाबले निकै रमणिय छ । सिमसार क्षेत्रमा रहेको भुल्के पोखरी र पोखरीमा जडित ढुङ्गेधारा र जालपादेवी मन्दिरले त्यहाँपुग्ने सबैको मन लोभ्याउँछ । धार्मिक र पर्यटकिय हिसाब दुवैमा भुल्के आकर्षक भएपनि प्रचार–प्रसार र उचित संरक्षणको अभावमा ओझेलमा परेको छ । भुल्केलाई आन्तरिक पर्यटनको गन्तव्य बनाउन सकिने भएपनि आर्थिक अभाव र सरोकारवालाहरुले चासो नदिएका कारण ओझेलमा परेको स्थानीय डिल्लीराम गौतमको भनाइ छ ।
पथरीको गहनाको रुपमा रहेको यो सिमसार क्षेत्र संरक्षण अभावमा पानीको मुल सुकेर लोप हुने खतरा बढेको भन्दै स्थानीयले चिन्ता ब्यक्त गरेका छन् । सिमसार क्षेत्रलाई पर्यटकिय क्षेत्रका रुपमा विकास गर्न यहाँका युवाहरु नजुटेका भने होइनन् । विभिन्न निकायमा सहयोगका लागि अपिल गरेको भएपनि यसतर्फ कसैको ध्यान नगएकाले आर्थिक अभावमा यो क्षेत्र ओझेलमा पर्दै आएको छ । स्थानीय युवा तथा शान्ति सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष कुलबहादुर गुरुङ सिमसार भित्र रहेको झाडी सफा गरेर दक्षिणपट्टीको बाँध निर्माण गरेमात्रै पनि यसको आकर्षण बढ्ने बताउनुहुन्छ ।
सिमसारसँगै त्यहाँको पानीको मुहानलाईसमेत संरक्षण गरी रमणीय स्थल बनाउने उद्देश्यले पर्यटन मन्त्रालयसँग बजेट समेत माग गरिएको भएपनि कुनै सहयोग नपाएको जालपादेवी मन्दिर समितिका अध्यक्ष वीरबहादुर बस्नेतको भनाइ छ ।
करीव चार हेक्टर क्षेत्रफलमा फैलिएको सिमसार क्षेत्रको पूर्वमा हरीयाली सामुदायिक वन र पश्चिममा शान्ति जालपादेवी मन्दिर छ । भुल्केको मुहानमा पोखरी बनाइ संचित भएको पानी खानेपानी ट्याङ्कीमा मिसाई पथरीवासीलाई वितरण गरिएको छ । भुल्केको मुहानमा पोखरी बनाइ संचित भएको पानी खानेपानी ट्याङ्कीमा मिसाइ पथरीवासीलाई वितरण गरिएको छ । जसमा एक हजार ३ सय उपभोक्तालाई दैनिक ७ लाख लिटर पानी वितरण भइरहेको छ । त्यति मात्रै नभई यहाँबाट उम्रिएका जरुवा पानीको लाटीखोलाबाट हजारौं विगाहा जमनि सिंचाइ हुन्छ साथै जालपादेवीको मन्दिरमा तीर्थ श्राद्ध, कालसर्प योग जप, चण्डी पुजा लगायत मृत्यु पश्चात काजक्रिया गर्नेहरुको समेत निकै भिड लाग्ने गरेको छ । जसले गर्दा भुल्केलाई धार्मीक पर्यटकिय स्थलका रुपमा समेत विकास गर्न सकिने देखिएको छ ।