धिमालको जात्री पर्व सकियो

धिमालको जात्री पर्व सकियो

 

तेजन खड्का

पूर्वी तराईको झापा र मोरङमा वसोवास गर्ने धिमाल जातिको मुख्य चाड सिर्जातजात्री बुधबारदेखि समापन गरिएको छ । मोरङको उर्लाबारी–६ मङ्गलबारेस्थित धिमाल जाति विकास केन्द्र परिसरमा भब्य मेलाको आयोजना गरी जात्रि पर्व समापन गरिएको हो ।

प्रत्येक वैशाख २ गते मोरङको भोगटेनी–८ राजरानीबाट पाठ पूजा तथा मेला आयोजना गरी सुरु गरिने मेला बुधबार असार २ गते समापन गरिएको हो । भोगटेनीलाई धिमाल जातिको उद्गमस्थल मानिएको छ ।
त्यसपछि धिमाल जातिको बिभिन्न गाउँ टोलमा पुगेर मेलाको आयोजना गरिन्छ । उर्लाबारी–६ को मङ्गलबारेमा आयोजित मेलामा मानिसहरुको बालबालिका तथा युवायुवतीको बाक्लो उपस्थिती रहेको थियो । धिमाल जातीको ९८ वटै गाउँ टोलहरुमा मेलाको आयोजना गरी यो पर्व मनाईएको थियो ।

नयाँ वर्षको पहिलो चाड भएकाले प्रकृतिपुजक धिमालहरू सालभरि कसैलाई पनि रोगव्याधि नलागोस्, शोक नपरोस्, सुख शान्ति छाओस् वाली विरूवा लगाउने बेलामा वर्षा होस्, जंगली जनावरले दुःख नदियोस् भन्ने कामना सहित महाराजथानमा हाँस, कुखुरालगायत जनावरको बली दिएर सामूहिक पूजाआजा गरिन्छ । परापूर्वकालमा धिमालहरूले यी समस्याहरू समाधान गर्न ग्रामथानमा पूजा गर्दा कामना पुरा भएपछि यसलाई निरन्तरता दिदँै आएको जनविश्वास छ । ग्रामथान धरमठाकुर, लक्ष्मी, चौमाझी, बुढा ठाकुर लगायतको पूजा गरिने गरिन्छ ।

जात्रीमा धिमालहरू आफूले भाकल गरे अनुसार वस्तु चढाउने पनि गर्दछन् । धिमालहरूले दुःख–बिराम नहोस्, सन्तान प्राप्ति होस् भन्ने मनोकामना राख्ने र ती पूरा भएपछि जात्रीका बेलामा देउतालाई भाकल अनुसारका वस्तु चढाउने गर्दछन् । यो बेलामा धिमालका घरमा पाहुना आउने र उनीहरूलाई मासु तथा ‘चिचिरी’, ‘बगिया’ लगायतका परिकार खुवाउने पनि गरिन्छ । जुन गाउँमा जात्री मेला लाग्छ त्यस गाउँका धिमालका घरघरमा पाहुना आउने गर्छन् । भेटघाटका साथै यस पर्वलाई विशेषगरी चेलीबेटीहरू माइत आउने अवसरको रूपमा पनि लिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्