भूकम्पले भवन चर्किएपछि जनता उच्च माविका विद्यार्थीहरुलाई पठनपाठनमा समस्या

भूकम्पले भवन चर्किएपछि जनता उच्च माविका विद्यार्थीहरुलाई पठनपाठनमा समस्या

आशिष विश्वकर्मा
इटहरी, ३ जेठ : वैशाख १२ र २९ गते गएको भूकम्पले बस्नै नहुनेगरी भवन चर्किएपछि इटहरीस्थित जनता उच्च माविका विद्यार्थीहरुलाई पठनपाठनमा समस्या भएको छ । इटहरीको पहिलो विद्यालयको रुपमा २०१३ सालमा स्थापना भएको जनता उच्च माविमा हाल एक हजारभन्दा बढी विद्यार्थीहरु अध्ययनरत छन् । इटहरीकै इतिहास बोकेको यो विद्यालय अहिले भूकम्पका कारण जीर्ण बनेको छ । जहाँ विद्यार्थीहरु बसेर पढ्न सकिरहेका छैनन् । वैशाख १२ मा आएको महाभूकम्प र त्यसपछि २९ गते आएको ठूलो पराकम्पनले विद्यालयको ११ कोठाको दुईतले भवन बस्नै नहुनेगरी चिर्र्किएको छ । ६ देखि १० कक्षासम्मका ६ सय बढी विद्यार्थीहरु पढ्दै आएको भवन चर्किएर जीर्ण बनेपछि हाल पठनपाठनमा निकै समस्या भएको छ । प्राविधिकहरुले विद्यालय भवन जोखिमपूर्ण रहेको र बस्न नहुने बताएपछि विद्यालयले कक्षा ६, ७ र ८ का विद्यार्थीहरुलाई इटहरी–८ स्थित प्रावि शाखामा लगेर पढाइरहेको छ । प्रावि शाखाको भवन प्रयोग हुन छाडेको र टिनको छानो भएकाले पानी पर्दा र चर्काे घाममा विद्यार्थीहरुलाई पढ्न निकै गाह्रो हुने गरेको छ । टिनबाट पानी चुहुनुका साथै बाहिरको पानीसमेत कक्षाकोठामा बस्ने गरेकाले ठूलो पानी पर्दा विद्यालय नै बन्द गर्नुपर्ने अवस्था छ । “अब वर्षायाम सुरु हुन लागेको छ,” विद्यालयका शिक्षक रामबहादुर पाठकले भन्नुभयो, “पानी परेपछि त विद्यालय बन्द गर्नुको विकल्प छैन ।” प्रावि शाखामा मात्रै हैन बजार क्षेत्रमा रहेको उच्च माविमा समेत वर्षाको समय पानी जमेर पोखरी बन्ने गरेको छ । विद्यालयले भने बजारमा होहल्ला र कोलाहलले पढ्ने वातारण नरहेकाले प्रावि शाखामा रहेको जग्गामा भवन निर्माण गरी सम्पूर्ण कक्षा सोही ठाउँबाट सञ्चालन गर्ने योजना बनाएको छ । विद्यालयले भवन निर्माणका लागि दाताहरुको खोजीसमेत गरिरहेको छ । “सबै विद्यार्थीलाई पायक पर्ने ठाउँमा कतै जग्गा पाइन्छ कि भनेर खोजिरहेका छौं,” विद्यालय सञ्चालक समितिका अध्यक्ष गणेब बुढाथोकी भन्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्